काठमाण्डौ । स्थानीयका लागि जारी रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ भर्ने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत चैत २३ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकका लागि भने गत वैशाख ७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको छ। यसमा खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले आयोजनास्थल, सेन्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। उनीहरुले प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई आवेदन दिन सक्नेछन्।