काठमाण्डौ । स्थानीयका लागि जारी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत वैशाख १९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। विदेशमा रहेका नेपाली श्रमिकलाई भने गत जेठ २ गतेसम्म आवेदन खुला गरिएको थियो। 

कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ अर्थात् १०० रुपैयाँ अंकित दरका कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। 

उक्त कुल कित्तामध्ये कम्पनीले ५ प्रतिशतले हुन आउने ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीयका लागि जारी गरेको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकिएको छ। 

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँ प्रिमियरबापत ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेकालाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियरबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको छ। 

घोराही सिमेन्टको आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन्। दाङकै  बिंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाले पनि यो आईपीओमा आवेदन दिन पाउनेछन्।

स्थानीयले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।