काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत असार १ गते आवेदन दिने अन्तिम दिन रहेको थियो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पनि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ जारी गरेको छ। यो आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुष्पा क्षमावती गाविसका सबै वडा) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुद्रावती गाविसका सबै वडा) का बासिन्दाले आवेदन दिन सक्नेछन्।

स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।