काठमाण्डौ । सरकारले स्थानीय निकायको निर्वाचन जेठ मसान्तभित्रै गर्ने भएको छ । 

सत्ता गठबन्धनको बैठकले स्थानीय निकायको निर्वाचन आगामी जेठ मसान्तभित्रै गर्ने गरी आवश्यक तयारी गर्न र निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको दिन तोक्न सुझाव दिएसँगै नेपालको राजनीतिकसँगै सेयर बजार पनि तरङ्गित हुने देखिएको छ । 

सेयर बजारका लगानीकर्ता पनि राजनीतिक अन्यौलतासँगै अलमलिएको अवस्थामा थिए । लामो समयदेखि अन्यौलमा रहेको निर्वाचनको मिति तोकिँदा राजनीतिक अस्थिरताको चिन्ता हट्ने, निर्वाचनकै नाममा भए पनि सरकारी ढुकुटीमा खर्च हुन नसकेर थुप्रिएको बजेट बजारमा आउने वा अनौपचारिक च्यानलमा रहेको पैसा पनि प्रणालीमा आइपुग्ने र त्यसले तरलता सहज भई ब्याजदर समेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बलियो बन्ने देखिएको छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले स्थानीय निर्वाचन समयमै हुने निर्णय भएसँगै नेपालको पूँजीबजारले अलटाइम हाईको उचाई चुम्ने दाबी गरे । एकपछि अर्को निर्वाचन समयमै हुँदा दूरदराजमा थन्किएर बसेको पैसा निस्किने र अनौपचारिक च्यानलमा रहेको पैसा समेत बाहिर निस्किएर बैंकिङ प्रणालीमा आउने बताए । ‘देशविदेशबाट पैसा आउँछ ।’ उनले भने–‘स्थानीय चुनावका नाममा करोडौं खर्च हुन्छ, ती सबै पैसा बैंकमै आउने हो । यसले तरलता सहज हुन्छ ।’ 

यस्तै, नयाँ सरकार बन्ने भएसँगै नयाँ सोंच पनि आउनसक्छ । यहीबेला नियामक धितोपत्र बोर्डमा पनि अध्यक्ष नियुक्त हुन्छन् । सबै क्षेत्र झै सेयर बजारमा पनि सकारात्मक माहौल बन्ने उल्लेख गर्दै उनले थपे–‘लगानीको माहौल बनेको छ । यसले सेयर बजारमा अब तरङ पैदा भयो ।’ 

स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्की लगानीकर्ताको मनोबल कमजोर भई अधिकांश ‘पर्ख र हेर’को अवस्थामा रहेको बेला स्थानीय निकायको निर्वाचन सम्बन्धी सुखद समाचार आएको बताउँछन् । चुनावको मिति घोषणा नहुँदा अन्यौल अझै बढ्थ्यो र यसले लगानीकर्ताको मनोबल अझ कमजोर बनाउने उनको भनाई छ । चुनावको मिति तय हुँदा अब बजारको आक्रामक उकालो यात्रा सुरु हुनसक्ने उनको विश्लेषण छ । 

उनको भनाईमा अब चुनाव हुने भएसँगै सरकारले बजेट खर्च गर्छ र तरलता सहज हुन्छ । स्थानीय सरकार तथा दलहरुले समेत खर्च गर्छन्, जसले सुस्त बनेको आर्थिक प्रणाली चलायमान हुन्छ । योजनाबाहेकका बजेट पनि अब खर्च हुनथाल्छ । चुनाव प्रचार प्रसारका नाममा पनि खर्च हुने हुँदा तरलता अझ सहज हुन्छ । सरकारले निर्वाचनको काम तथा पूर्व तयारी ऋण लिएर पनि गर्छ, जसले सेयर बजारमा पनि सकारात्मक माहौल बन्ने उनको तर्क छ ।  

सक्रिय लगानीकर्ता गोविन्दप्रसाद घिमिरेको विचार भने केही भिन्न छ । उनकाअनुसार स्थानीय निकायको निर्वाचनको मिति तोकिने खबरकै कारण बजार केही दिन बढे पनि यो धेरै नबढ्ने दाबी गर्छन् । ‘चुनाव हुँदाका विगतका वर्षहरु हेर्ने हो भने सधैं बजार बढेको छैन ।’ उनले थपे–‘यसकारण यसैलाई मात्र आधार बनाएर लगानी गर्नुहुन्न ।’ 

चुनावले नै अहिलेको बजारमा जादूको छडीजस्तो काम नगर्ने, तर यसको नाममा बजार र प्रणालीमा पैसा आउने प्रष्ट पारे । ‘माहौल राम्रो बन्छ, तर लगानीकर्ताले यसैको नाममा आँखा चिम्लिएर खरीदबिक्रीको निर्णय गर्नु भूल हुनेछ ।’ उनले थपे–‘ब्याजदर बढेको छ । अब यो केही सहज होला । अर्थतन्त्र चलायमान हुन्छ ।’