काठमाण्डौ । स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएका छन्।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको हो । योसँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउनेछन्। 

सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरेको हो। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध शेर्पाले रिट दायर गरेका थिए।

आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र निर्वाचनमा उम्मेदवारी दिने अधिकार कुण्ठित हुने रिटमा जिकिर गरिएको थियो।