काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) खोली सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। 

कम्पनीले एक सूचना प्रकाशित गरी हालसम्म थुप्रै स्थानीय सेयरधनीहरुले डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकीकरण गर्न बाँकी रहेकोले यथाशीघ्र सेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो। 

दोलखा जिल्लाका स्थानीयका लागि कम्पनीले बाँडफाँड गरेको सेयर भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरुको सुविधाका लागि सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जममा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ। 

डिम्याट खातामा जम्मा गरी अभौतिकीकरण गरेपछि मात्रै सेयर खरिद–बिक्री गर्न सकिने र भविष्यमा वितरण हुनसक्ने बोनस तथा हकप्रद सेयर डिम्याट खातामै सीधै जम्मा हुने व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ। 

अपर तामाकोशीको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। सनराइज क्यापिटलले आफ्नो कार्यकाल ३० वर्ष पूरा गरेको अवसरमा यो माघ महिनाभरि डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न सक्ने व्यवस्था गरेको छ। अपर तामाकोशीका स्थानीय सेयरधनीहरुले यो माघसम्म निःशुल्क खाता खोली सेयर अभौतिकीकरण गर्न क्यापिटलले पनि आग्रह गरेको छ।