काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ता तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन्।
पाल्पाको तानसेनमा आज पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारहरुबाट नीतिगत सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन्। पाल्पाको वसन्तपुरमा केबलकारसहितको रिसोर्ट केही हप्तामै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै उनले अन्य पर्यटकीय पूर्वाधारमा समेत लगानीका इच्छुक रहेको भन्दै नगर तथा जिल्ला उद्योग वाणिज्य संघ र स्थानीय सरकारको समन्वयका लागिसमेत आग्रह गरे।
सोही अवसरमा अध्यक्ष ढकालले महासंघले पाँचवटा प्राथमिकता अघि सारेको उल्लेख गर्दै यसबाट अर्थतन्त्रको विकास तथा उद्यमी–व्यवसायीको मनोबल उच्च बनाउन सहयोग पुग्ने पनि बताए। पहिलो अर्थतन्त्रमा देखिएको संकटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायहरुसँग महासंघले नजिकबाट सहकार्य गरिरहेको पनि अध्यक्ष ढकालले जानकारी दिए।
यसैगरी आन्तरिक वा विदेशी लगानी प्रवर्द्धनमा सरकारले वातावरण बनाउनुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए। सरकार र निजी क्षेत्रले एक–अर्कालाई आक्षेप लगाउनेभन्दा लगानीको वातावरण बनाउन एक–अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरालाई महासंघले प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताए।
दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ उठाएको अध्यक्ष ढकालले बताए। ‘हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाखभन्दा बढी युवालाई आन्तरिक र बाह्य रोजगारीमा जानु अघि दक्ष बनाउन जरुरी छ। यसले हाम्रा उद्योगमा रहेको दक्ष जनशक्तिको अभाव पूरा गर्नेछ भने वैदेशिक रोजगारीमा दक्ष जनशक्ति जाँदा उनीहरुको आम्दानी पनि धेरै गुणा बढाउन सकिने भएकाले सरकार, दातृ समुदाय तथा अन्य सरोकारवालासँग मिलेर महासंघले यसतर्फ काम अघि बढाउन लागेको छ’, उनले भने।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासंघले महत्वका साथ उठाएको बताए। उनले अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा सरकारको सहयोग हुनेमा विश्वस्त रहेको पनि उल्लेख गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago