काठमाण्डौ । आफूले गरेको निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा स्वार्थ समूहले खेल्न थालेको निष्कर्ष निकाल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निकट भविष्यमै पत्रकार सम्मेलनमार्फत प्रस्ट पार्ने भएका छन्। 

विशेषगरी पछिल्लो समय अर्थमन्त्री महतले स्थानीय निकायको फन्डमध्ये ६० प्रतिशत रकमलाई बैंकहरुको निक्षेपका रुपमा गणना गर्न पाउने निर्णय गरेका थिए। मन्त्रिस्तरीय यो निर्णयपछि उनी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन क्यानडा प्रस्थान गरेका थिए। तर, यहीबीचमा अर्थमन्त्रीको उक्त निर्णयलाई कार्यान्वयन गर्नतर्फ मन्त्रालयकै कर्मचारीहरुले चासो दिएनन्। 

बैंकहरुको तरलता सहज बनाउने र त्यसकै आडमा ब्याजदर घटाउने अर्थमन्त्रीको रणनीतिमा मन्त्रालयकै कर्मचारीहरुले साथ नदिएपछि जनता र बजारलाई आश्वस्त पार्न अर्थमन्त्री महतले १–२ दिनमै पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। 

‘स्थानीय निकायको फन्डलाई निक्षेपका रुपमा गणना गर्न दिने निर्णय, त्यस विषयमा फैलाइएको भ्रम र अर्थतन्त्र सुधारका लागि पछिल्लो समयमा भएका कामहरुका विषयमा जानकारी दिन अर्थमन्त्रीज्यूले १–२ दिनमै पत्रकार सम्मेलन गर्नुहुँदैछ’, अर्थ मन्त्रालयको निजी सचिवालयका एक अधिकारीले भने, ‘उहाँले आफूले राम्रो निर्णय गरे पनि कार्यान्वयनमा असहयोग भएको महसुस गर्नुभएको छ। यस विषयमा फैलाइएको भ्रम चिर्ने उहाँको मुख्य उद्देश्य हो।’

ती अधिकारीका अनुसार अर्थमन्त्रीले गरेको निर्णय कार्यान्वयनमा समस्यामात्र देखिएको हो, स्थगन भएको होइन।