काठमाण्डौ । सोमबारको सेयर बजार परिसूचक(नेप्से) स्थिर देखिएको छ । यो दिन नेप्से परिसूचक ०.२१ को झिनो अंकले मात्र घटेको छ भने आइतबारको तुलनामा कारोबार रकममा करिब ३ करोडको वृद्धि भएको छ । 

विगत केही दिनदेखिको कारोबारलाई हेर्दा बजारमा किन्ने र बेच्नेबीच तीव्र मोलमोलाई भइरहेको देखिन्छ । किन्नेले सकेसम्म सस्तोमा किन्न खोजिरहेको छ भने बेच्नेले सकेसम्म बढीमा बिक्री गर्न खोजिरहेको छ । बजारमा तीव्र मोलमोलाई चलेका कारण समेत अवस्था औसत नै देखिन्छ । 

पछिल्लो समय बजार घटाउन संगठित गिरोहहरु नै लागि परेका छन् । यस्ता गिरोहहरुले बजारलाई आफ्नो नियन्त्रणमा लिएर आफू अनुकुल हिँडाउन खोजिरहेका समेत देखिएको छ । 

अर्कोतर्फ, ब्याजदर, कर लगायतका बिषयले समेत लगानीकर्ताको मनोलब अपेक्षित रुपमा माथि उठाउन सकेको छैन । 

सोमबार ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ, जसका कारण सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको छ । तर, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ०.०४ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका ५ समूहको उपसूचक बढेको छ भने बाँकी ६ समूहको सूचक घटेको छ। 

बैंकिङ समूह १.२३ अंकले बढेको यो दिन व्यापार समूहमा २.११ अंक, जलविद्युत समूहमा ०.८५ अंक, बित्त समूह १.१८ अंक र माइक्रोफाइनान्स समूह ६.३६ अंकले बढेका छन् । 

यस्तै, होटल समूह ६.०३ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.९८, निर्जीवन बिमा समूहमा ०.०९, उत्पादनमूलकमा ०.०७, जीवन बिमा समूहमा १६.७३ र अन्य समूहमा ४.७३ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४८ कम्पनीका ७ लाख ९६ हजार ७ सय ३४ कित्ता सेयर १९ करोड १७ लाख ४८ हजार १ सय २० रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको २ करोड ४३ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, छिमेक लघुवित्त विकास बैंकले १ करोड १७ लाख बढीको कारोबार गरेको छ भने प्रोग्रेसिभ फाइनान्सको ९८ लाख बढीको साधारण सेयरको समेत कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गरेको दिन नेपाल इन्भेष्टमेन्ट बैंकको ६६ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भएको छ। 

नवील बैंकले ६० लाख, सानिमा माई हाइड्रोले ५२ लाख, सिद्धार्थ बैंकले ५१ लाख, शिखर इन्स्योरेन्सले ४५ लाख र स्ट्याण्डर्ड चार्टर्डले ४४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । प्रोग्रेसिभ फाइनान्सको मूल्य ८.३३ प्रतिशतले वृद्धि भयो । 

मल्टीपर्पोज फाइनान्स कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८.६३ प्रतिशतले घट्यो ।