काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा ग्रीन भेन्चर्सको सेयर सोमबार स्पेसल प्रि–ओपन सेसनमा किनबेच नभएका कारण आज कारोबारमा नआउने भएको छ। 

यो कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, प्रि–सेसनमा सेयर किनबेच नभएका कारण आजबाट नियमित सेसनमा कारोबार नखुलेको हो।

नेप्सेले यो कम्पनीले ‘जीभीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ९१.८६ रुपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। अब भोलि स्पेसन प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

नेप्सेमा यो कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता सूचीकृत भएको छ। जसमा स्थानीयको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारणको ३१ लाख २५ हजार कित्ता र संस्थापकको २ करोड ५० लाख कित्ता छन्। 

ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो।