– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारको विकास छिमेकी मुलुुकको तुलनामा कछुवाको गतिमा भइरहेको देखिन्छ। लगानीकर्तामा भने सेयर बजारसम्बन्धी जनचेतना, तालिम, गोष्ठी, बजारबाट हुने फाइदा–बेफाइदासम्बन्धी विषयमा विस्तारै चासो बढ्दै गएको पाइन्छ। 

ब्रोकर हाउसहरुमा जमघट भएका लगानीकर्ता भने अब आउने दिनमा बजारको विकास दु्रतगतिमा हुनेमा आशावादी देखिन्छन्। नयाँ स्टक एक्सचेन्ज आउने र इन्ट्राडे कारोबारजस्ता सुविधाहरु छिट्टै पाइनेमा उनीहरु विश्वस्त छन्। 

नयाँ–नयाँ सुविधा आएपछि बजारले लामो दूरीको यात्रा तय गर्नेमा लगानीकर्ताबीच बहस नै चल्न थालेको छ। त्यस्ता सुविधा आएपछि नेपालको सेयर बजार अहिलेको जस्तो लामो करेक्सन नहुने र बजार करेक्सन भए पनि सानो अंक हुने र छोटो समयमै बजारले माथिको बाटो समाति हाल्ने ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले बताए। ‘करिब ४० वर्षपहिले भारतको सेयर बजार अहिलेको नेपालको सेयर बजारजस्तै थियो’, ती लगानीकर्ताले भने, ‘भारतको बजार अहिलेको अवस्थामा आउन ४० वर्ष लागे पनि अहिले प्रविधिमा निकै फड्को मारिसकेको छ। सरकारले चाहेमा ४० वर्षको काम ४ वर्षमा हुन्छ। अन्तर्राष्ट्रिय बजारमा पनि सेयर बजार र क्रिप्टो करेन्सीजस्ता डिजिटल मार्केटले हलचल ल्याइदिएको छ।’

ब्रोकर हाउसमै भेटिएका अनुभवी र पुराना लगानीकर्ता समय र परिस्थितिअनुसार चल्न सके सेयर बजार कमाउन सकिने बताउँछन्। ‘करिब ३० वर्षपहिले रोपनीको १ लाख रुपैयाा पर्ने काठमाण्डौका जग्गा अहिले आनाको झन्डै १ करोड रुपैयाँ पुगेका छन्’, ती लगानीकर्ताले भने, ‘महिनामा १ लाख रुपैयाँ कमाउनेले पनि घर खर्च चलाएर बचाएको पैसाले बाँचुन्जेलसम्म घर–जग्गा किन्न सक्दैन। केहीले धेरै मेहनत गरेर किने पनि धेरैले गलत तरिकाबाट आएकोे पैसाले घर–जग्गा जोडेका छन्।’

त्यसैले थोरै लगानीबाट कमाउने क्षेत्र भनेकै सेयर बजार रहेको ती लगानीकर्ता बताउँछन्। ‘पैसा कमाउने सोचेले सहर पसेकाहरु अब गाउँ फर्किन चाहँदैनन्। जागिर खाएरै सहरमा घर–जग्गा जोड्न पनि सक्दैन’, उनले भने, ‘त्यसैले आफूसँग रहेको सानोतिनो पैसा सेयर बजारमै लगानी गर्दै जानुपर्छ। लगानी गरेर सेयर बजारबाहेक राम्रो कमाउने अन्य क्षेत्र छैन।’

यतिबेला न्यून मूल्यमा आएका राम्रा कम्पनीका सेयरमा लगानी गरी लामो समयका लागि होल्ड गर्न सके राम्रै प्रतिफल प्राप्त गर्न सकिने ती लगानीकर्ताको भनाइ छ। ‘किनकि नेपालको सेयर बजारको पनि विकास हुँदै गइरहेको छ, नयाँ–नयाँ प्रडक्ट पनि आउनेछन्’, उनले भने, ‘अबको १० वर्षमा नेपालको सेयर बजारले ठूलो फड्को मार्छ। त्यसैले अहिले किनेर होल्ड गर्नेले राम्रै कमाइ गर्ने सम्भावना छ।’

केही वर्षपहिले सस्ता जग्गामा लगानी गर्ने आज करोडपति भएजस्तै अहिले बलिया र सस्ता कम्पनीमा लगानी गर्ने लगानीकर्ताले अब आउने केही वर्षमा नसोचेको नाफा कमाउने ती लगानीकर्ताले बताए। 

ब्रोकर हाउसमै साथीहरुसँग छलफलमा गरिरहेका एक लगानीकर्ताले भने, ‘घर–जग्गा अचल सम्पत्ति भएको हुनाले चाहेको बेलामा बिक्री गर्न नसकिने तर सेयर चल सम्पत्ति भएको हुनाले जति बेला पनि खरिदबिक्री गर्न सकिन्छ।’

सरकारको राजस्वको मुख्य स्रोत नै सेयर बजार हुने दिन छिट्टै आउने पनि ती लगानीकर्ताले बताए। 

त्यहीँ रहेका अर्का एक लगानीकर्ताले अबको २५ वर्षसम्म राम्रा कम्पनीको सेयर होल्ड गरेर राख्ने आफ्नो योजना सुनाए। भारतको एमआरयफ कम्पनीको चर्चा गर्दै ती लगानीकर्ताले भने, ‘नेपालको सेयर बजारमा त्यस्ता कम्पनी होलान्। आफूले राम्रो अध्ययन र विश्लेषण गरेर त्यस्ता कम्पनी चिन्न सक्नुपर्छ।’

अब दोस्रो बजारमा आउने नयाँ कम्पनीहरु पनि अहिले लाख लगानी गरेर भविष्यमा करोड बनाउन सक्ने खालका आउन सक्ने ती लगानीकर्ताले बताए। ‘बजारको विकाससँगै कम्पनीका सेयरमूल्यमा उछाल आउँछ’, ती लगानीकर्ताले भने, ‘तर, यी कुरा अब आउने समयले प्रमाणित गर्नेमा म ढुक्क छु।’