काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।
दाङमा शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको बताए। ‘हामीसँग प्रसस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन्। यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौँ’, कार्यक्रमका प्रमुख अतिथि ढकालले भने, ‘यी उपलब्ध स्रोत तथा साधनको सही रुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन। यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ’, उनले भने।
कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए। ‘हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाइँहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ। तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौंं। तपाइँहरुलाई भोगेका समस्याहरुको समाधानका लागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ’, उनले भने।
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै ढकालले निजी क्षेत्र व्यावसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। ‘तर, यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु। निजी क्षेत्रलाई सरकारको विकासको साझेदारका रुपमा हेर्ने उहाँको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ। साच्चिकै उत्साहित बनाएको छ’, उनले भने।
यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिने ढकालले बताए। ‘सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौँ’, उनले भने, ‘यसले मात्र हामीलाई विकास र समृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने मेरो विश्वास छ।’
ढकालले तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा अधिवेशनसहितको साधारणसभा भएको हुनाले यस साधारणसभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे। साथै, उनले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभामा आफूलाई विजयी गराउन भूमिका खेल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19