– अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)
काठमाण्डौ । नेपाली सेयर बजार अहिले बुलिस ट्रेन्डमा छ। बजार बुलिस ट्रेन्डमा हुँदा कम्पनीको मूल्यका साथै लगानीकर्ताको संख्या बढ्नु स्वाभाविक नै हो।
त्यसो त अहिले सेयर बजारमा लगानीकर्ताको संख्या र कम्पनीको मूल्यमात्र नभएर आफूखुसी प्राविधिक विश्लेषण गर्नेहरुको संख्या पनि ह्वात्तै बढ्दो छ। त्यस्ताले आफ्नो स्वार्थअनुरुप बजारको विश्लेषण गर्दा नयाँ तथा सोझा लगानीकर्ताको सम्पत्ति जोखिम पर्न थालेको छ।
बजारमा अहिले धेरैजसो लगानीकर्ता प्राविधिक विश्लेषणको कक्षा लिनेमात्र नभएर विश्लेषक भनेको सेयर किनेर पनि फस्दै आएका छन्। अहिले बजारमा प्राविधिक विश्लेषण गर्ने विश्लेषकको बिगबिगी नै छ। स्वघोषित विश्लेषकहरुले विश्लेषण गर्दा आफ्नो स्वार्थ हाबी हुने भएकाले धेरैजसो लगानीकर्ता कमजोर कम्पनी किनेर यसको सिकार बन्दै आएका छन्।
‘मलाई त एकजना प्राविधिक विश्लेषकले टोपी लगाइदिए’, सेयर बजारमा नवप्रवेशी एक लगानीकर्ताले भने, ‘ती विश्लेषकले भनेकै आधारमा निफ्राको सेयर किनेँ तर किनेको दिनदेखि सेयरमूल्य दैनिक रूपमा घटिरहेको छ, त्यो कस्तो विश्लेषण हो?’
अर्का एक लगानीकर्ताको अनुभव भने अलिक भिन्न छ। उनले प्राविधिक विश्लेषण सिक्न भनेर हजारौँ रुपैयाँको तिलाञ्जलि गर्नुपरेको बताए। ‘त्यो पैसाले कुनै कम्पनीको सेयर किनेको भए राम्रो नाफा आउँथ्यो होला’, उनले भने, ‘अहिले बजारमा जो पनि विश्लेषक भन्दै लगानीकर्तालाई फसाउँदै आएका छन्। त्यस्ता विश्लेषकलाई कसले नियमन गर्ने? नियामक निकाय साथै लगानीकर्ताको हितका लागि खोलिएको संघसंस्था के गर्दै छन्?’
‘मलाई त अहिले बजारमा लगानी गर्न नै डर लाग्छ’, एक लगानीकर्ता सशंकित हुँदै भन्छन्, ‘विश्लेषकहरुले बजारको बियरिस ट्रेन्ड सुरु भयोमात्र भन्छन्। यस्तो वातावरणमा कसरी लगानी गर्न सकिन्छ ?’
ती लगानीकर्ता केही दिनयता बजार घट्नुको मुख्य कारण तिनै विश्लेषकहरु रहेको आरोप लगाउँछन्। ‘९–१० जना विश्लेषकले बजार घट्छ भनेर हल्ला फैलाउँदा हामी लगानीकर्ताहरुले कसरी ढुक्क साथ लगानी गर्न सक्छौँ?’ उनले प्रश्न गर्दै भने।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार यति पुग्छ भन्दै अफवाह फैलाउने विश्लेषकहरुलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायत अन्य नियामक निकायहरुले कारबाही गर्नुपर्ने बताउँछिन्। ‘अहिले विश्लेषकहरुको कुरा सुनेर लगानीकर्ता सुनजस्ता कम्पनीहरुका सेयर बेचेर पित्तलजस्ता कम्पनीहरुका सेयर किन्दै छन्’, उनी भन्छिन्, ‘हामीले सामाजिक सञ्जाल, मिडियाहरुमा लेख लेख्नुका साथै विभिन्न फोरमहरुमा लगानीकर्ताहरुलाई सचेत गराएका बाबजुद पनि उनीहरु कमजोर कम्पनीहरुमा लगानी गर्दैछन्।’
लगानीकर्तालाई हल्लाको पछि नलागी आफैँ विश्लेषण गरेर राम्रा कम्पनीहरु छनोट गरी लगानी गर्न पोखरेलको सुझाव छ।
सेयर बजारका सक्रिय युवा लगानीकर्ता क्षितिज मल्लका अनुसार फेसबुक, युट्युब, क्लब हाउसलगायत अन्य सामाजिक सञ्जालमा आफ्नै हिसाबमा धर्का कोरेर विश्लेषण गर्ने विश्लेषकको संख्या अहिले धेरै छ। ‘अहिले युट्युब साथै अन्य सञ्जालहरुमा बाटोमा हिँडेको मानिस बोलाएर पनि आफ्नो स्वार्थअनुरूप बजारको विश्लेषण हुने गरेको छ’, उनले प्रश्न गरे, ‘नियामक निकायहरुले यसको नियमन गर्नुपर्छ कि पर्दैन?’
‘विश्लेषक आफू पहिला लगानीकर्ता अनिमात्र विश्लेषक हुन्, त्यसैले उनीहरुको विश्लेषण पक्षपाती हुन्छ’, मल्ल भन्छन्, ‘आफूले किनेको सेयर नराम्रो छ भनेर कुन विश्लेषकले भन्छ?’
अहिले विश्लेषकहरु बजार फन्डमेन्टली चल्नुपर्छ भन्दै सल्लाह दिने गरेको सुनाउँदै मल्लले भने, ‘त्यस्तो हुने भए बजार बुलिस र बियरिस हुँदैन थियो। बजार विश्लेषकहरु अनुकूल होइन, विश्लेषकहरु बजारअनुकूल चल्नुपर्छ। त्यसैले बजार आफ्नै ट्रेन्डमा चल्छ।’
विश्लेषक विष्णुप्रसाद बस्याल डिजिटल युग भएकाले बजारमा विश्लेषण गरेर सामाजिक सञ्जालमा राख्नेहरुलाई रोक्न नसकिने बताउँछन्। ‘तर सेबोनलगायत अन्य निकायहरुले यसको नियमन भने गर्नुपर्छ’, उनी भन्छन्।
सेबोनले विश्लेषकहरुलाई विश्लेषण गर्न प्रमाणीकरण गरे धेरै समस्याहरु समाधान हुने बस्यालको भनाइ छ। ‘विश्लेषकहरुले पनि विश्लेषण गर्दा आफ्नो पेसागत नैतिकताको धरातलमा बिर्सनुहुँदैन’, उनी भन्छन्, ‘सेबोनले नीतिनियम बनाएर विश्लेषकहरुले के–के गर्न पाइन्छ? विश्लेषण गरेको कम्पनीको कति प्रतिशत सेयर होल्ड गर्न पाइन्छ? विश्लेषण गर्दा के–के कारकहरु हेर्ने? लगायत अन्य विविध विषयमा प्यारामिटर राखे बजारमा विश्लेषकहरुको विकृति कम हुने थियो।’
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी मर्चेन्ट बैंकहरुले लगानीकर्तालाई सेयर बजारसम्बन्धी परामर्श सेवा दिन पाउने नियमावली रहेको बताउँछन्। केही मर्चेन्ट बैंकहरुले यस्तो सेवा दिँदै आएको उल्लेख गर्दै गिरी भन्छन्, ‘हामीले सामाजिक सञ्जालमा आएको सबै कुराहरु नियन्त्रण गर्न सक्दैनौँ। सञ्जालमा आएर विश्लेषण गर्ने विश्लेषकहरु धेरै छन्। कति सही हुन्छन् अनि कति गलत। त्यसैले लगानीकर्ताले लगानी गर्दा अरूको कुरा सुनेरभन्दा आफ्नो स्वविवेक प्रयोग गरी लगानी गर्न आवश्यक छ।’
गिरीले आउने दिनहरुमा नीतिनियमहरु संशोधन गरी लगानी थप सहज र स्वस्थ बनाउने दाबी गरे।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago