काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् ।

हिमालयन इन्टरनेशनल एक्स्पो आईएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को उद्घाटन गर्दै उनले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताए।

सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम गर्न नसकिने बताए ।

यसैगरी, सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योगहरुलाई प्रबर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । एक्स्पोका संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानाडा, यूरोप, चीन र भारतलगायत मुलुकबाट ५०० भन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिए । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे उनले बताए ।

विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको पनि उनले बताए । करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ ।

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रबर्द्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत् परिचित गराई विश्व बजारमा पहुँच गराएर निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने छन् । 

एक्स्पोमा स्वदेशी तथा विदेशी गरि १०० वटा स्टल रहेका छन् । एक्स्पो आगामी असोज २९ गते सोमबारसम्म चल्ने छ ।