काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदका लागि बुक  क्लोजको मिति तोकेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले माघ ८ गतेलाई हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो ।

यसको अर्थ माघ ७ गतेभित्र यो कम्पनीको सेयर खरीद गर्ने वा यो समयभित्र कायम सेयरधनीले मात्र ५० प्रतिशत हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ४० करोड २७  लाख कुल मूल्यको ४० लाख २७ हजार कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर १ अर्ब २१ करोडकोको उचाईमा पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापूँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसारको पूँजी पुर्याउन एशियन लाइफले अझै ७९ करोड पूँजी जुटाउनुपर्ने हुन्छ ।