– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । हकप्रद सेयर बिक्री खुला गरेर पनि आफ्ना सेयरधनीहरुलाई एसएमसएस अलर्ट पठाउन अटेर गरिरहेका अप्पर तामाकोशी हाइड्रोपावर र मल्टीपर्पस फाइनान्समाथि कारबाही हुने सम्भावना बढेर गएको छ। 

सीडीएससीले हालै हकप्रद सेयर निष्कासनको जानकारी दिन कम्पनीहरुले सेयरधनीहरुलाई मोबाइलमा एसएमएस अलर्ट पठाउनुपर्ने व्यवस्था गरेको छ। लगानीकर्ताहरुबाट सूचनाको अभावमा हकप्रद सेयर भर्न छुटेको थुप्रै गुनासा आएपछि सीडीएससीले एसएमएस अलर्टको व्यवस्था गरेको हो। 

अप्पर तामाकोशी र मल्टीपर्पस फाइनान्सले भने हकप्रद बिक्री खुला गरिरहेका छन् तर अहिलेसम्म आफ्ना सेयरधनीहरुलाई एसएमएस अलर्ट भने पठाएका छैनन्। ‘ती दुवै कम्पनीले हकप्रद बिक्री खुला गरिरहेको जानकारी आफ्ना सेयरधनीहरुलाई मोबाइलमा म्यासेज पठाउन आनाकानी गरिरहेका छन्’, सीडीएससीका एक अधिकारले भने, ‘हकप्रद निष्कासनको सूचना मोबाइलमा पठाउने दायित्व स्वयं सम्बन्धित कम्पनीको हो। उसले आफैँले पठाउनुपर्छ, सीडीएससीले समन्वयमात्रै गर्ने हो।’

ती अधिकारीले कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई हकप्रदको सूचना राम्रोसँग नदिएको खण्डमा सेयर अभौतिकीकरण (डिम्याट) गर्ने कार्य सीडीएससीले रोक्ने चेतावनी दिए। ‘त्यसैले यस्तो कारबाहीबाट बच्न सम्बन्धित कम्पनीहरुले हकप्रदको सूचना बेलैमा सेयरधनीहरुलाई एसएमएस पठाउनुपर्छ’, उनले भने, ‘अन्यथा कारबाहीको भागिदार बन्नुुपर्छ।’

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि १ः१ अर्थात चुक्तापुँजीको १०० प्रतिशत हकप्रद खुला गरिरहेको छ। यो कम्पनीको हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। 

उता मल्टीपर्पस फाइनान्सले पनि गत भदौ १० गतेदेखि चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद बिक्री खुला गरिरहेको छ। सेयरधनीहरुलाई भदौ ३१ गतेसम्म आवेदन दिन पाइने व्यवस्था कम्पनीले गरेको छ। 

एसएमएस अलर्टको सुरुआत हालै सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुलाई जारी गरेको हकप्रद निष्कासनबाट गरिएको थियो। 

सिनर्जी पावरले गत भदौ ३ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। यो कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद बिक्री गरिसकेको छ। हकप्रद भर्ने समय भदौ ३१ गतेसम्म रहेको छ। 

सिनर्जी पावरले आफ्ना सेयरधनीहरुलाई एसएमएस पठाएर हकप्रद निष्कासनबारे जानकारी गराइसकेको छ। 

त्यसैगरी अरुण काबेली पावरले पनि आफ्ना सेयरधनीहरुलाई गत भदौ ११ गतेबाट चुक्तापुँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरिरहेको छ। यो कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। 

सीडीएससीका अनुसार अरुण काबेली पावरले पनि आफ्ना सेयरधनीहरुलाई एसएमएस अलर्ट पठाइसकेको छ।