काठमाण्डौ । दोश्रो चरणको चुनावको मनोनयन दर्ताको दिन राजनीतिक उल्लास देखिए पनि लगानीकर्तामा भने निराशा देखियो । बजारमा राजनीतिको कुनै प्रभाव नपर्दा नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झर्यो भने सबै समूहका सूचकमा रातो पोतियो ।
राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थालाई पुँजी वृद्धिका लागि दिएको समयसीमा सकिने समय नजिक आएका कारण बजारमा सम्बद्ध संस्थाहरुले ल्याएको हकप्रद भर्नुपर्ने बाध्यता र लगानीको अन्य विकल्प नहुँदा भएको सेयर सस्तोमै बिक्री गर्नुपर्ने अवस्था, बैंकबाट ऋण लिंदा निकै चर्को ब्याजदर पर्ने अर्को बाध्यता तथा आर्थिक वर्ष सकिएपछि प्रकाशन हुने बैंक तथा बित्तीय संस्थाको प्रगति विवरणको पर्खाई लगायतका कारणले अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बस्दा बजार घटिरहेको छ ।
ठूलामध्ये अधिकांश लगानीकर्ताले अहिले बजारमा सेयर खरिदारी बढाएका छैनन् भने साना लगानीकर्ता समेत तत्काल बजार बढ्ने संकेत नदेखिएको भन्दै भएको सेयर समेत बिक्री गरिरहेका छन् । असारसम्ममा तिर्नुपर्ने ऋण तथा त्यसको ब्याज लगायतले समेत कतिपय सेयर बिक्रीमा हतारिएका छन् । यसरी बजारमा खरीद भन्दा बिक्री चाप बढेपछि सानोतिनो पहिरो नै गएको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको कारोबार खुम्चिँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले तल झरेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ ।
साताको पहिलो कारोबार दिन सबै समूहको सूचकमा रातो पोतिएको छ । बैकिङ समूह १७.४ अंकले घट्दा बिमा, विकास बैंक र जलविद्युत समूहमा क्रमशः १४.७४, १०.९३ र ३१.२८ अंकको गिरावट आयो । यस्तै, होटल समूह १८.३६, बित्त समूह ०.८५, उत्पादनमूलक ८.७३ र अन्य समूह १.७४ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ४३ कम्पनीका ८ लाख ४३ हजार ९ सय १२ कित्ता सेयर ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सले ७ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्यो । एभरेष्ट बैंकले ६ करोड ८५ लाख बढीको कारोबार गरेको बजारमा एनआइसी एशियाको २ करोड ७५ लाख बढी संस्थापक सेयरको समेत कारोबार भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ६१ लख, प्रभू बैंकले २ करोड २८ लाख, नेपाल इन्स्योरेन्सले १ करोड ८६ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी र ५ स्थान वाणिज्य बैंकले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
साताको पहिलो कारोबार दिन एभरेष्ट इन्स्योरेन्सका सेयरधनी मालामाल भए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि ७ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति मूल्य बढाए ।
यो दिन एभरेष्ट बैंकको कन्भर्टेबल प्रिफरेन्स सेयरको मूल्यमा पहिरो गयो । यो सेयरको मूल्य करिब १० प्रतिशतले ओरालो लायो । यस्तै, न्याग्दी ग्रुप पावर लिमीटेडको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago