security board of nepal
-भक्तराज रसाइली
काठमाडौ । हकप्रद सेयरको निश्कासन समयावधि छोट्याउने र नबिकेको सेयर अक्सनबाट बिक्रीको व्यवस्था समेत हटाउने गृहकार्य भइरहेको छ ।
धितोपत्र बोर्डले हकप्रद सेयर निश्कासनको समयावधि छोट्याउने गृहकार्य थालेको हो । यस्तै, नबिकेको हकप्रद सेयर अक्सनबाट बिक्री गर्ने व्यवस्थाले विकृति निम्त्याएको भन्दै यो व्यवस्था खारेजीको तयारी समेत भइरहेको धितोपत्र बोर्डस्थित स्रोतले जानकारी दिएको छ ।
'अब अक्सनबाट सेयर बिक्री गर्ने व्यवस्था हटाइनेछ ।' बोर्ड स्रोतले भन्यो-'नबिकेको हकप्रद सम्बन्धित कम्पनीका सेयरधनीहरुलाई नै समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था हुन लागेको छ ।'
धितोपत्र बोर्डले पछिल्लो समय प्राथमिक बजार र दोश्रो बजारमा सहजता कायम गर्ने निकै राम्रा प्रयासहरु गर्दै आएको छ । बजारको आधुनिकीकरण र व्यवस्थित बनाउने बिषयमा पनि बोर्डको पछिल्लो सक्रियता उदाहरणीय बनिरहेको छ । यही क्रममा हकप्रदको नाममा हुने हैरानी र विकृति अन्तका लागि बोर्ड तातेको हो ।
हाल सूचीकृत कम्पनीहरुले हकप्रद निष्कासन आवेदनका लागि कम्पनीको सेयरधनीहरुलाई ३५ दिन मिति तोक्ने गरेका छन् र केही समय थप गरेर पनि हकप्रद भर्न पाउने व्यवस्था छ ।
हकप्रद सेयरमा सम्पत्ति सम्बन्धी अधिकार हुने भएकाले मुलुकी ऐन पनि आकर्षित हुन्छ, तर समय छोटिएमा बाँडफाड प्रक्रिया चाँडो हुने र चाडो लिष्टिङ्ग भई सेयरधनीहरुले छिट्टै बेच्न पाउनेछन् ।
कुनै पनि कम्पनीको हकप्रदमा सोही कम्पनीका सेयरधनीहरुकै प्रथम अधिकार रहने हुनाले पनि नबिकेको सेयर सो कम्पनीभित्रका सेयरधनीहरुलाई नै समानुपातिक वितरणको व्यवस्था हुन लागेको बताइएको छ ।
यसैबीच, बोर्डबाट मर्चेन्ट बैंकरको रूपमा कार्य गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकरहरु र क्रेडिट रेटिङ सेवा प्रदान गर्नका लागि बोर्डबाट अनुमति प्राप्त संस्था क्रेडिट रेटिङले लिने सेवा शुल्कमा समेत कटौति गर्न लागिएको बोर्ड स्रोतको दाबी छ ।
धितोपत्रको प्राथमिक सेयर निश्कासन तथा बिक्री प्रबन्धको कार्य गर्ने, धितोपत्रको प्रत्याभूति गर्ने, धितोपत्रको सेयर रजिस्ट्रेसन सम्बन्धी कार्य गर्ने, धितोपत्र लगानी व्यवस्थापन तथा संस्थागत परामर्शदाता जस्ता सेवाहरु प्रदान गर्ने हेतूले मर्चेन्ट बैंकरको स्थापना भएको हो ।
यस्तै, कम्पनीहरुको समग्र वित्तीय विवरण, कार्य सम्पादन तथा व्यवस्थापन र सुशासनको अवस्था आदिको गहन, स्वतन्त्र अध्ययन अनुसन्धान गरी मूल्याङ्कन गरी स्तर दिने सेवा प्रदान गर्न क्रेडिट रेटिङ सेवाको उद्देश्य रहेको हुन्छ । क्रेडिट रेटिङले सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीहरुको बारे बुझ्न र लगानीको जोखिमलाई न्यूनीकरण गर्नमा समेत सघाउ पुर्याउने गर्दछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago