काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन हचुवाका भरमा हतारमा ब्रोकर कमिसन घटाउने काम भइरहेको आरोप लगाएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा आफ्नो धारणा राख्दै अध्यक्ष मैनालीले यस्तो आरोप लगाएका हुन्। ‘ब्रोकर कमिसन ३ पटक घटिसक्यो’, उनले भने, ‘नियामकले लिने शुल्क चाहिँ नघट्ने तर ब्रोकरको कमिसन घटेको घट्यै गर्ने  ?’

भारतमा ब्रोकरले दिने कतिपय सेवा आफूहरुले फ्रीमा दिइरहेको पनि मैनालीले दाबी गरे। ‘कमिसन परिमार्जन गर्दा सबैभन्दा कमजोर ब्रोकरलाई पनि हेर्नुपर्छ’, उनले भने। 

मैनालीले आफूहरुले ७७ वटै जिल्लाबाट ब्रोकरेज सेवा दिन चाहेको बताए। ‘त्यसका लागि नियामकले शाखा खोल्नका लागि सहज वातावरण बनाइदिनुपर्छ’, उनले भने, ‘तर. यहाँ ब्रोकर शाखा खोल्न पनि १२–१४ महिना लाग्छ, यो बेलासम्म त बैंकहरुले मर्जर गरी एकीकृत कारोबार नै सुरु गरिसकेका हुन्छन्।’

मैनालीका अनुसार शाखा विस्तार गर्दा नेप्सेले स्वीकृति दिँदा ४४ वटा खुलेको तर सेबोनको हातमा गएपछि १२ वटामात्रै विस्तार भएको छ। 

मैनालीले बैंकमा डिफल्ट हुँदा कालोसूचीमा राख्ने व्यवस्था रहेको बताए। ‘तर ब्रोकरमा यो व्यवस्था छैन’, उनले भने, ‘त्यही भएर डिफल्ट हुने केस धेरै छन्।’