काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै बजारमा नयाँ वर्ष २०२२ लाई हरिया कार्पेट बिच्छ्याएर गतिलो स्वागत गरेको छ।

बजार आज ६०.४१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५८४.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ को विन्दुमा पुगेको छ। आज सवा ४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। 

बजार जानकार प्रकाश रजौरे आजको बढाइले बजारमा करेक्सन सकिएको भनेर बुझ्न सकिने बताउँछन्। ‘बजार अहिले धेरै फराकिलो भएकोले यसको शक्ति पनि ठूलै छ’, उनले भने, ‘अब नकारात्मक केही छैन, बजार सकारात्मक नै भएकाले २८०० विन्दुसम्म जान सक्छ।’

बजार बुलिस नै रहेको रजौरे बताउँछन्। ‘नयाँ वर्षमा नयाँ उमंग पनि देखिएको छ’, उनले भने। 

सक्रिय लगानीकर्ता महेश रिजाल आजको बढाइको दिगोपनका बारेमा अझै केही दिन बजारको चाल हेरेपछि मात्र थाहा हुने बताउँछन्। ‘धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए तर आज बजारमा एकाएक हरियाली छायो’, उनले भने, ‘सायद नयाँ वर्षमा लगानीकर्तामा नयाँ उमंग आएको हुन सक्छ।’

आउँदो माघ महिनाबाट सेयर धितो कर्जामा केही सहज अवस्था हुने भएकोले निष्क्रिय रुपमा बसेका केही ठूला लगानीकर्ता सक्रिय भएको हुन सक्ने रिजाल बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.०८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा ३.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९९ प्रतिशत, विकास बैंक समूहमा ३.४२ प्रतिशत, वित्त समूहमा ०.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४ प्रतिशत, जलविद्युत समूहमा १.७ प्रतिशत, लगानी समूहमा २.१७ प्रतिशत, जीवन बीमा समूहमा २.४२ प्रतिशत, लघुवित्त समूहमा २.८८ प्रतिशत, अन्य समूहमा २.३ प्रतिशत र व्यापार समूहमा ०.७४ प्रतिशतले बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा किनबेच भएका छन्।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ४४ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २९ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको २३ करोड ४९ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १८ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १७ करोड ३७ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ३८ लाख रुपैयाँ, ङादी ग्रुपको ७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८१ लाख रुपैयाँ र सीआईटीको ६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सूर्या लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।