काठमाण्डौ । सेयर बजारमा पछिल्लो समय हल्लाको बोलवाला छ । हल्लै हल्लाको देशमा आइतबार नेप्से परिसूचक कारोबारको क्रममा दोहोरो अंकले बढे पनि फेरि हल्लाकै प्रभावका कारण अन्तिम समयमा आएर झिनो अंकले घट्यो । नेप्से नागबेलीको चालमा कुदे पनि कारोबार रकम ४८ करोड ६० लाख माथि पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन सेयर धितो कर्जाको सीमा बढाउने गरी मौद्रिक नीति तयार हुँदै गरेको समाचार बाहिरिएपछि नेप्सेमा उछाल आएको थियो । ३६ अंकले बढेको बजारमा आइतबार भने सेयर धितो कर्जाको सीमा नबढ्ने हल्ला फैलियो, जसले फेरि बजारलाई घटाइदिएको छ । यस्तै, बिहीबार उछाल आएको बजारमा आइतबार समेत केही अवधि बढेको मौकामा थोरै भए पनि फाइदामा सेयर बिक्री गरेका सर्टटर्म कारोबारीका कारण समेत बजार अन्तिम समयमा घटेको अनुमान गरिएको छ ।
अर्कोतर्फ, सरकारले देउवा सरकारको पालामा निर्वाचन आचारसंहिता लागेपछिको अवधिका नियुक्तिहरु खारेज गर्ने निर्णयसँगै नेप्सेका प्रमुख चन्द्रसिंह साउदलाई समेत खारेजीको पत्र पठाइएपछि यसले अनलाइन प्रणाली समयमै आउने संभावना टरेको हल्ला बजारमा फैलिएका कारण समेत गिरावटमा बल पुगेको कतिपयको विश्लेषण छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ०.०२ अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ०.१२ अंकको गिरावट देखिएको छ ।
यो दिन बैंकिङ समूह २.३३ अंकले बढेको छ भने होटल समूहमा ४२ अंकको उछाल देखिएको छ । यस्तै, उत्पादनमूलक समूह ३०.९५ अंकले बढेको छ भने अन्य समूहमा १.३५ अंकको बढोत्तरी भएको छ ।
अन्य सबै समूहको सूचकमा गिरावट आएको छ । विकास बैंक समूह २.२८ अंकले घट्यो भने बिमा समूह, जलविद्युत, बित्त र व्यापार समूहमा क्रमशः २३.८९, १७.७४, ४.४२ र २.७९ अंकको गिरावट आएकोछ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका १२ लाख ५० हजार २ सय ८२ कित्ता सेयर ४८ करोड ६० लाख ७८ हजार ७ सय ५४ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंक लिमीटेडले ५ करोड भन्दा बढीको कारोबार गर्यो । यस्तै, यो दिन नवील बैंक लिमीटेडको १ करोड ७८ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो ।
हकप्रदका लागि बुक क्लोजको मिति तोकेको एनसीसी बैंकले १ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ४१ लाख, कालिका माइक्रो क्रेडिटले १ करोड २४ लाख, नवील बैंकले १ करोड २० लाख, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले १ करोड १९ लाख, फ्रस्ट माइक्रोफाइनान्सले १ करोड भन्दा बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.६६ प्रतिशतले घट्यो । यस्तै, रैराङ हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले समेत ६.५३ प्रतिशतले सम्पत्ति गुमाए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago