काठमाण्डौ । पछिल्लो समय हल्ला हल्लाकै भरमा निश्चित कम्पनीको सेयरमा दैनिकजसो चलखेल हुन थालेको छ । 

कुनै बेला आकर्षक वित्तीय प्रगति, आकर्षक लाभांश तथा कुनै बेला कमजोर कम्पनीको राम्रो र बलियो कम्पनीसँग मर्जरको हल्ला चलाउँदै सर्वसाधारण, सोझा र नयाँ लगानीकर्ता फसाउने खेल दोश्रो बजारमा निरन्तर चल्न थालेको छ । 

विगत केही साताअघिदेखि चलिरहेको शिवम सिमेन्टको सेयरमा साधारण र नयाँ लगानीकर्ता फसाउने खेल जारी रहेको बेला अपर तामाकोशी, हिमालयन डिस्टीलरी लिमीटेड लगायतको सेयरमा समेत तीव्र चलखेल भएको विषय बाहिरी सकेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा छाएको मर्जरको लहरको बीचमा विभिन्न संस्थाबीच मर्जर हुन लागेको भन्दै मूल्यमा तीव्र चलखेल भइरहेको छ । 

मंगलबार यस्तै चलखेल भयो ज्योति विकास बैंकको सेयरमा । यो बैंक र प्राइम कमर्सियल बैंकबीच मर्जर हुन लागेको हल्ला फैलाउँदै कम्पनीको मूल्य १० प्रतिशतले बढाएर पोजिटिभ सर्किट लगाउने खेल खेलियो । यो खेल २४ घण्टा नबित्दै सेलायो । 

ज्योतिपछि खेलाडीहरुले कामना सेवा विकास बैंकको सेयर मूल्यमा खेल्न थालेका छन् । कामना सेवा विकास बैंकलाई समेत प्राइमले नै गाभ्दैछ भन्ने बजारमा हल्ला फैलाएर तीव्र चलखेल भइरहेको देखिएको छ । 

यो समाचार तयार पार्दासम्म कामना सेवा विकास बैंकको मूल्य ५.०३ प्रतिशतले बढिसकेको छ । मार्केट डेप्थमा खरीदतर्फ ३६ हजार १३४ कित्ताका लागि अर्डर पोस्ट भएको देखिएको छ भने बिक्रीतर्फ १२ हजार ९४६ अर्डर मात्र पोष्ट भएको छ । यसले समेत यो बैंकको सेयरमा उच्च खरीद चाप देखिएको छ । 

रोचक पक्ष त के भने यो कम्पनीको सेयर मूल्य यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी ब्रोकर नम्बर ५८, नाशा सेक्युरिटीजमार्फत खरीद भएको छ । यो ब्रोकरमार्फत २६ हजार ९६७ कित्ता कामना सेवाको सेयर खरीद भइसकेको छ । कुल ४२ हजार ९३६ कित्ताको सेयर खरीदबिक्री भएकोमा ब्रोकर नम्बर ५८ मार्फत मात्रै २६ हजार ९६७ कित्ताको कारोबार भएको देखिन्छ । 

कामना सेवा र प्राइम बैंकका संचालकहरुबीच संभावित मर्जरका लागि छलफल भएको सूचना बजारमा चुहिँदा मूल्यमा यसरी चलखेल भएको देखिएको छ । यी दुवै बैंक मर्जर वा प्राप्तिमा जाने कुनै निश्कर्षमा पुगिसकेका छैनन् ।