काठमाण्डौ । बैशाख पहिलो सातादेखि बजार बढ्ने आँकलनमा सोमबारको बजारमा एकाएक हरियाली छाएको छ । यसरी बजारलाई माथि पुर्याउन यो दिन पनि विगतमा झै हल्लाले नै काम गरेको देखिन्छ । लघुवित्त(माइक्रो फाइनान्स)को पूँजीको बिषयमा नेपाल राष्टबैंकबाट निकट भविष्यमै निर्णय आउने हल्ला केही समूहले नियोजित रुपमा बजारमा फैलाएर चलखेल गरेको देखिएको छ । लगानीकर्ताहरु पनि तथ्य नबुुझी हल्लाको पछि दगुुर्दा अधिकांश माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्य उचालिएको छ । 

आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको थियो । बैशाख पहिलो सातादेखि बजारमा उछाल आउने केही विश्लेषकहरुको आँकलनका बीच सोमबार नियोजित रुपमा फैलाइएको बजारमा बहार आएको हो । केही समयअघि बिमा कम्पनीहरुको चुक्तापूँजीको बिषयमा समेत निर्णय आउने हल्लाका कारण बजारमा उछाल आएको थियो । सो हल्ला यथार्थमा परिणत भएपछि माइक्रो फाइनान्सको पनि यस्तै हुने त होइन् भन्ने ठानेका लगानीकर्ताहरुले अन्धाधुन्ध लगानी गरेका हुन् । 

सोमबार नेप्से परिसूचक २४.६२ अंकले बढेर १६७६.२२ अंकको उचाईमा पुुगेको छ भने १ अर्ब ६२ करोड बढीको कारोबार भएको छ । 

विकास बैंक, होटल र बिमा समूहको सूचकमा ३ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । विकास बैंकको सूचक ५१.९२ अंक(२.८२ प्रतिशत), होटल समूह ५८.२४ अंक(२.७५ प्रतिशत) र बिमा कम्पनी २०१.५ अंक(२.३३ प्रतिशत)ले बढेको छ । 

वाणिज्य बैंक समूह १७.५५ अंकले बढेको छ भने जलविद्युत समूह ४५.४६ अंक, बित्त समूह ५.४४ र उत्पादनमूलक ४.५७ अंकले बढेको छ । अन्य समूह १.७४ अंकले घट्यो । 

सोमबार क वर्गका कम्पनीको सेयर कारोबार चम्किँदा सेन्सेटिभ इण्डेक्स ५.३ अंक र फ्लोट इण्डेक्स २ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ४४ कम्पनीको कुल २९ लाख ६९ हजार ५ सय २९ कित्ता सेयर १ अर्ब ६२ करोड २३ लाख ८९ हजार १ सय २७ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा धेरै नेपाल बैंक लिमीटेडले १३ करोड ८१ लाख बढीको कारोबार भयो । गुराँस लाइफ इन्स्योरेन्सले ५ करोड ५२ लाख, सानिमा बैंकले ४ करोड ८८ लाख, यूनाइटेड इन्स्योरेन्सले ४ करोड ८० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ५८ लाख, एशियन लाइफ इन्स्योरेन्सले ४ करोड ५८ लाख, नेपाल इन्स्योरेन्स कर्पोरेसन लिमीटेडले ४ करोड ४९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी, तीन स्थान वाणिज्य बैंक, २ स्थान विकास बैंक समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार १६ कम्पनीले पैसा छाप्दा तिनका सेयरधनी मालामाल भए । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, एनएमबी माइक्रो फाइनान्स, रिलायवल माइक्रो फाइनान्स, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, १० प्रतिशतको हाराहारीमा किसान माइक्रो फाइनान्स बित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, विजय लघुवित्त वित्तीय संस्था, आइएलएफसीओ माइक्रो फाइनान्स, महिला सहयात्रा माइक्रो फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सूूर्य लाइफ इन्स्योरेन्स, गुराँस फाइनान्स, नागबेली लघुवित्त विकास बैंकले समेत सम्पत्ति मूल्य बढाए । 

विकास बैंकको सूचकले छलांग मारे पनि माउण्ट मकालुु डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुुगे । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि साढे ५ प्रतिशतको हाराहारीमा घट्यो ।