काठमाण्डौ । पछिल्लो समय बजार हल्लाकै भरमा कतिपय कम्पनीहरुको सेयर मूल्य बढ्न थालेको छ । 

बजारमा हल्ला चलेकै भरमा लगानीकर्ताहरुले त्यस्ता कम्पनीको सेयर खरीदमा मरिहत्ते गर्दा मूल्यमा उछाल आउने गरेको हो । 

सरकारले सिमेन्टलाई प्रमुख निर्यातजन्य वस्तु मानी सोही अनुसारको नीति ल्याएसँगै नेप्सेमा सूचिकृत एक मात्र सिमेन्ट उद्योग शिवम् सेयर मूल्य केही दिनदेखि हिजोसम्म उसैगरी बढेको थियो । शिवम सिमेन्टले विशेष योजना घोषणा गर्ने खबर(हल्ला)का बीच लगानीकर्ताहरुले मरिहत्ते गर्दै सो कम्पनीको सेयर उठाए । 

सोमबार बजार बन्द हुँदा बिक्रीमा भन्दा खरीद अर्डरमा अधिक चाप देखिएको शिवममा मंगलबार बजार खुलेपछि भने ठीक उल्टो अवस्था देखियो ।

अर्थात, शिवमको सेयर किन्ने भन्दा बिक्री गर्ने बढी देखिए । यसले समेत यो कम्पनीको सेयर मूल्यमा नियोजित हल्ला चलाएर ठूलाले राम्रै चलखेल गरेका आशंका गर्न सकिने जानकार बताउँछन् । 

शिवम्को मूल्य हल्लाले बढे झै हिमालयन डिस्टीलरीको सेयर मूल्यमा समेत मंगलबार यस्तै अवस्था देखिएको छ । यो कम्पनीको तेश्रो त्रैमासिक प्रतिवेदन निकै मजबुत आउने हल्ला बजारमा फैलिँदा यो कम्पनीको मूल्यमा मंगलबार पोजिटिभ सर्किट लाग्यो, अर्थात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । 

यो कम्पनीको मूल्य आइतबारदेखि नै बढ्न थालेको देखिन्छ । सो दिन प्रतिकित्ता १४५४ रुपैयाँ रहेको मूल्य सोमबार बढेर १५०० पुगेको थियो ।

मंगलबार त उछाल नै आई प्रतिकित्ता १६५० रुपैयाँ पुगेको हो । यो मूल्य वर्ष दिनयताकै अधिक हो । 

मंगलबार यो कम्पनीको २४ वटा कारोबारमार्फत ३० लाख ८० हजार ४५० रुपैयाँको सेयर कारोबार भयो । २४ वटा कारोबारमै सर्किट लागेको हो । 

केही ब्रोकर तथा लगानीकर्ताका अनुसार हिमालय डिस्टीलरीले यो वर्ष निकै राम्रो मुनाफा कमाउने र यही कुरा तेश्रो त्रैमासिक रिपोर्टमा देखिने खबर आएपछि कम्पनीको सेयरमा अधिक खरीद चाप देखिएको हो । 

कम्पनीले दोश्रो त्रैमासमा १८ करोड ५८ लाख बढी खूद नाफा आर्जन गरेको थियो । 

हिमालयन डिस्टीलरीले तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन, यसकारण फगत हल्लैका पछाडि दगुरेर कुनै कम्पनीको सेयर आँखा चिम्लिएर उठाउनु घातक बन्नसक्छ ।