काठमाण्डौ । सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानलाई मे १५ सम्म स्थगित गर्ने भएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिवार बसेको बैठकले मे १५ सम्म आन्तरिक र अन्तराष्टिय हवाई उडानलाई स्थगित नै राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । 

यसअघि सरकारले अप्रील ३० सम्म आन्तरिक र अन्तराष्ट्रिय उडान स्थगनको निर्णय गरेको थियो । दुवै उडान स्थगनको अवस्था अझै १५ दिनसम्म रहने निर्णय आएको हो । 

सचिव बिडारीका अनुसार उच्चस्तरीय समितिको बैठकमा हालसम्मको लकडाउनको अवस्था सफल रहेको समेत निश्कर्ष निकालेको छ । ‘यसैका कारणले संक्रमण हुनबाट धेरै हदसम्म नियन्त्रण गर्न सक्यौं भन्ने निश्कर्ष निस्कियो ।’ बिडारीले भने–‘छिमेकी मुलुक र अन्तराष्ट्रिय परिवेशलाई पनि विचार गर्दै जानुपर्छ भन्ने विषयमा समेत छलफल भयो ।’

तर, लकडाउन कति दिनसम्म बढाउने वा नबढाउने भन्ने विषयको टुंगो मन्त्रीपरिषदले गर्ने समेत उनले जानकारी दिए । 

‘अहिलेसम्म हामी ट्रयाकमै छौ भन्ने निश्कर्ष निस्कियो ।’ लकडाउनको विषयमा समितिले सरकारलाई कुनै सुझाव दियो कि भन्ने संचारकर्मीको प्रश्नमा सचिव बिडारीले भने –‘हामी आगामी दिनमा ट्रेसिङ, ट्रयाकिङ, टेस्ट र ट्रिटमेन्टको कामलाई अझ तीव्र र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ भन्ने कुरामा पनि एकमत भयौं।’