काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंक(५.३६ अंक)ले बढेतापनि कारोबार रकम भने २ अर्ब रुपैयाँमुनि(१ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ) नै सीमित बनेको छ ।

अब सेयर बजारको यात्रा बुल नै रहेको दाबी गरिरहँदा हिजोआज लगानीकर्ताहरुसमेत लगानीको क्षेत्रमा सिफ्ट हुँदै लगानीको निर्णय गर्न थालेका देखिन्छन् । 

अघिल्लो साता बीमा र लघुवित्त चम्किएकोमा यो साताको सुरुवातदेखि नै लगानीकर्ताहरु हाइड्रो कम्पनीका सेयरहरुमा केन्द्रीत छन् । आज सबैभन्दा धेरै कमाउने सर्वोत्कृष्ट १० कम्पनीहरु मध्ये ७ वटामा हाइड्रोले कब्जा जमाएको छ भने अधिकांश हाइड्रोपावरका सेयरमूल्यमा उछाल आएको छ ।

स्वास्थ्य संकट र आर्थिक संकटसँग जुधिरहेको सरकारले भोलिबाट धेरै क्षेत्र खुलाएसँगै होटल समूहमा समेत लगानीकर्ताहरुको एकाएक आकर्षण बढेको छ । होटल समूहमा रहेका केही सीमित कम्पनीहरुको सेयरमूल्य निकै कम मूल्यमा रहेकाले अधिक खरिद चाप रहेको र कालान्तरमा सेयरमूल्यमा उछाल आउने अनुमानका साथ होटलसँग सम्बन्धित सेयर लगानीकर्ताको रोजाईमा पर्न थालेका विश्लेषकहरु बताउँछन् । 

आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ९५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ५७ कम्पनीको सेयरमूल्यमा ओरालो लाग्यो। १७ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो ।

नेप्सेमा आज सूचीकृत कम्पनीहरुमध्ये १९४ कम्पनीका धितोपत्र किनबेच हुँदा ३० हजार ५०१ पटक सेयर कारोबार भएको थियो । 

यो दिन बंैकिङ समूहमा ४.५८ अंकको गिरावट आयो भने बाँकी सबै उपसमूहका सूचक हराभरा भए । 

व्यापार समूह २०.९३ अंकले बढेको यो दिन होटल समूहमा १४२.८१ अंकको उछाल आयो । यस्तै, विकास बैंक समूहमा २.०८ अंक, जलविद्युत समूहमा ५४.०९ अंक, बित्त समूहमा १.१३ अंक, निर्जीवन बिमा समूहमा ४२.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा २.८२ अंक, अन्य समूहमा १.४८ अंक, माइक्रोफाइनान्स समूहमा ४.८७ अंक, जीवन बिमा समूहमा ७२.१४ अंक र म्युचुअल फण्ड समूहमा ०.०६ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा नेपाल पुनर्बिमा कम्पनीले ९ करोड ६१ लाख बढीको कारोबार गर्यो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ४६ लाख, नागरिक लगानीकोषले ५ करोड ६२ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ५ करोड ५३ लाख, सानिमा माई हाइड्रोले ५ करोड ३८ लाख, नेको इन्स्योरेन्सले ५ करोड १ लाख, अरुण काबेली पावर लिमीटेडले ४ करोड ७० लाख, प्रभू इन्स्योरेन्सले ३ करोड ६५ लाख, अरुण भ्याली हाइड्रोले ३ करोड ५८ लाख र अपी पावरले ३ करोड ५३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, घलेम्दी हाइड्रो, वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । 

यस्तै, एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, यूनाइटेड मोदी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सोल्टी होटल, ङादी ग्रुप पावर लिमीटेड, रैराङ हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत हाराहारीमा वृद्धि भयो । 

यो दिन म्युचुअल फण्डहरुको प्रतिइकाई मूल्यमा धेरै गिरावट आएको देखियो । सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको इकाई मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।