काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढेको छ। आज कारोबार रकम पनि बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से परिसूचक ५.७४ अंकको बढोत्तरीका साथ १५६१.२७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२३ अंकको वृद्धिसँगै ३०९.५७ को उचाइमा पुगेको छ।

साताको अन्तिम दिन आज पनि हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा उछाल आएको छ। विगत ४ वर्षयता निकै तल झरेको हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा पछिल्ला समय लगानीकर्ता झुम्मिएका छन्।

आज सबैभन्दा धेरै कमाउनेहरुमा हाइड्रोपावर कम्पनीहरुले वर्चस्व कायम गरेका छन्। यो दिन व्यापार र वित्त समूहका सेयरमूल्यमा पनि बढोत्तरी देखिएको छ।

बजार जानकार केशव कोइराला असोज १५ नजिक भीषण वर्षा भइरहँदा अब हाइड्रोमा आगो लाग्ने जिकिर गर्छन्। विगत ३–४ वर्षदेखि हाइड्रोमा लगानीकर्ताहरु नकारात्मक बनेकै कारण हाइड्रोका सेयरमूल्य अत्यन्तै न्यून मूल्यमा झरेको र अब यो विन्दुभन्दा तल नझर्ने लगानीकर्तामा मनस्थिति सिर्जना भएकै कारण उच्च खरिद चापले मूल्य आकासिएको उनको तर्क छ।

अन्य सेक्टरको प्रथम त्रैमासमा रिपोर्ट उत्साहजनक नआउने आँकलनका साथ लगानीकर्ताहरुले हाइड्रोमा लगानी खन्याइरहेको कोइरालाको ठहर छ। ‘यो स्वभाविक पनि हो’, उनले भने, ‘हाइड्रोका रिभेन्यू निरन्तर बढिरहेको र ब्याजदर कटौतीले समेत हाइड्रोपावरको प्रथम त्रैमासिक वित्तीय विवरण अनपेक्षित आउन सक्छ।’

आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १९३ कम्पनीका ४५ हजार ८३४ पटक सेयर कारोबार हुँदा ८४ कम्पनीका सेयरमूल्य उकालो लागेको छ भने ६५ कम्पनीका सेयरमूल्य भने ओरालो लागेको छ। यस्तै २२ कम्पनीका सेयरमूल्य भने स्थिर रहेको छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समहूमा सबैभन्दा धेरै ७०.८५ अंकको उछाल आएका छ। जलविद्युत् समूहमा ५५.७१ अंकको बढोत्तरी आएको आज बैंकिङ समूह ०.९३, होटेल्स् समूह १७.२७ अंक, वित्त समूह ९.६२ अंक र अन्य समूह ८.९४ अंकले बढेको छ। 

आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५३.९७ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा ४४.१ अंकको गिरावट आएको यो दिन विकास बैंक समूह १.६७ अंक, उत्पादन तथा प्रशोधन समूह ९.३ अंक, लघुवित्त समूह ०.५२ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले घटेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमधये १९३ कम्पनीका ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँमा कारोबार भएको छ।

यो दिन अरुण काबेली पावरको सर्वाधिक १४ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भयो। माथिल्लो तामाकोशीको ९ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ३८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ५१ लाख रुपैयाँ, अपी पावरको ७ करोड २६ लाख रुपैयाँ, नेसनल हाइड्रोको ५ करोड ३१ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५ करोड १६ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड ५ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज हाइड्रोका लगानीकर्ताहरु मालामाल भएका छन्। आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, सिनर्जी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र वरुण हाइड्रोपवारको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यसैगरी अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, घलेम्दी हाइड्रो, युनाइटेड फाइनान्स, रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत् र अरुण काबेली पावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले बढेको छ। 

यो दिन सिजिजन्स म्युचुअल फन्ड १ को इकाइ मूल्यमा २ प्रतिशत बढीको गिरावट आएको छ।