काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार झिनो अंकले घटेर बजार बन्द भएको छ। आज कारोबार रकम भने बढेर झन्डै २ अर्ब रुपैयाँमा पुगेको छ।
यो साताको सुरुआतदेखि नै नेप्से परिसूचकमा झिनो अंकले बजार उचारचढाव भइरहेकोमा आज बुधबारसमेत निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३.१९ अंकको गिरावटका साथ १५५०.४३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.६४ अंकको गिरावटका साथ ३०७.१७ को विन्दुमा सीमित बनेको छ।
हिजो मंगलबारबाट पुनः हाइड्रोमा लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको थियो। यसले आज पनि निरन्तरता पायो। आज पनि हाइड्रोमा लगानीकर्ताहरु झुम्मिए।
अघिल्लो सातासम्म निरन्तर बढिरहेको बजार यो साता भने साइडवेजमा नै रहने र झिनो अंकले मात्र तलमाथि भइरहने विश्लेषकहरुको भनाइ छ। बजारप्रति लगानीकर्ताहरुको बलियो मनोविज्ञान रहेको र खरिदचापसमेत उच्च हुँदा पनि सेयर किनबेचमा निकै मोलतोल हुने गरेको छ।
आज विकास बैंक र हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा वृद्धि देखियो। हाइड्रोपावर कम्पनीका सस्ता मूल्यमा रहेका सेयरले समेत कारोबार रकममा हिट नगर्ने हुँदा परिसूचक र दैनिक कारोबार रकममा हिट नभइरहेको विश्लेषकहरुको दाबी छ।
यसैगरी बजारमा नयाँ लगानीकर्ताको उपस्थिति निकै बाक्लो भइरहेको तर उनीहरु हाल खुलिरहेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओतर्फ मोडिएकाले समेत दोस्रो बजारमा भाइभ नभएको विश्लेषकहरुको जिकिर छ।
आज १९० कम्पनीका ३६ हजार २८२ पटक सेयर कारोबार हुँदा ६१ कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ८९ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। २० कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ८ वटामा रातो पातिएको छ।
यो दिन विकास बैंक समूहमा बढी चमक देखियो। यो समूहमा सर्वाधिक ३४.५४ अंकको बढोत्तरी आयो।
यसैगरी जलविद्युत् समूह ८.७ अंक, वित्त समूह ३.०१ अंक र म्युचुअल फन्ड समूह ०.१३ अंकले बढ्यो।
आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५१.५५ अंकको गिरावट आएको छ। बीमा समूह ३५.७ अंकले घटेको यो दिन बैंकिङ समूह ४.१७ अंक, व्यापार समूह ११.०९ अंक, होटेल्स् समूह १५ अंक, उत्पादन तथा प्रशोधन समूह ७.२२ अंक, अन्य समूह २.७६ अंक र लघुवित्त समूह ६.७८ अंकले ओरालो लाग्यो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज अरुण काबेलीको ९ करोड ७८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २९ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६२ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड २० लाख रुपैयाँ, कमना सेवा विकास बैंकको ४ करोड ८९ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ८१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन पञ्चकन्या माई हाइड्रो, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।
आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago