काठमाण्डौ । यो साता सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा झिनो अंकको गिरावटका साथ बजार बन्द भएको छ। आज कारोबार रकम भने बढेर २ अर्ब रुपैयाँनजिक पुगेको छ। 

आज नेप्से परिसूचक ७.२१ अंकको गिरावटका साथ १५५३.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७९ अंकको गिरावटका साथ ३०७.८२ को विन्दुमा खुम्चिएको छ। 

आज हाइड्रोपावर समूहमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ। केही सातादेखि निरन्तर बढिरहेको हाइड्रोपावरमा केही दिनअघि करेक्सन आई पुनः अधिकांश हाइड्रोपावरका सेयरमूल्यमा उछाल आएको छ। आज हाइड्रोपावर र उत्पादनशील कम्पनीहरुका सेयरमूल्यमात्रै उक्लिएको छ।

अब परिसूचक नघट्ने बलियो मनोविज्ञान लगानीकर्ताहरुमा रहे पनि अधिकांश सेयर खरिदबिक्रीमा अधिक बार्गेनिङ हुन थालेको छ। अर्थात् किन्नेले सस्तोमा किन्न खोज्ने र बेच्नेले समेत महँगोमा बेच्ने उच्च बार्गेनिङ चलिरहेको देखिन्छ।

केही साताअघि नेप्से परिसूचक १६ सय विन्दु नजिक पुग्न लाग्दा बजारमा करेक्सन आएको थियो। हाल बजार साइडवेज अवस्थामा छ। 

पछिल्ला दिनहरुमा नेप्से परिसूचकमा कुनै दिन केही झिनो अंकको वृद्धि त कुनै दिन झिनो अंकको गिरावट भइरहेको छ।

उसो त मन्त्रिपरिषद् पुनर्गठनको चर्चा र आगामी अर्थमन्त्री को बन्ला भन्ने आशाका बीच लगानीकर्ताहरु अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको विश्लेषकहरुको भनाइ छ। कम कारोबार संख्या, कारोबार रकम र परिसूचकको झिनो उत्ताराचढावकै बीच यो साताको सेयर बजार रहने विश्लेषकहरुको आँकलन छ।

आज ५८ कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने १०२ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। १० कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भन बाँकी ९ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत् समूहमा सबैभन्दा बढी २८.०५ अंकको उछाल आएको छ। यसैगरी उत्पादन तथा प्रशोधन समूहमा ६ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बढोत्तरी भएको छ। 

आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा ४४.९९ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा ४२.९६ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह १०.८२ अंक, व्यापार २४ अंक, होटेल्स् समूह १०.०८ अंक, विकास बैंक समूह ०.६८ अंक, वित्त समूह २.८ अंक, अन्य समूह ४.९४ अंक र लघुवित्त समूह १३.५८ अंकले घटेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ७३ लाख ५ हजार १११ कित्ता सेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन अरुण काबेली पावरले सर्वाधिक १७ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार गर्यो। हिमाल दोलखा हाइड्रोपावरको १० करोड ६२ लाख रुपैयाँको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ४ करोड ५६ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड २९ लाख रुपैयाँ, युनिभर्सल पावरको ४ करोड २ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८८ लाख रुपैयाँ, नेसनल हाइड्रोको ३ करोड ६५ लाख रुपैयाँ र कुमारी बैंकको ३ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा हाइड्रो कम्पनीसहित ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने हिमालय ऊर्जा, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर, नेपाल फाइनान्स र पञ्चकन्या माई हाइड्रापावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

यसैगरी युनियन हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीले उछाल आएको छ। 

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सबैभन्दा बढी ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।