काठमाण्डौ । साताको सेयर कारोबार हु्ने अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १६ सय तल ओर्लेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब रुपैयाँभन्दा मुनि झरेको छ।
आज नेप्से परिसूचक ११.३४ अंकको गिरावटका साथ १५८९.६३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकले घटेर ३१४.७४ को विन्दुमा खुम्चिएको छ।
आज वित्त, लघुवित्त र म्युचुअल फन्ड समूहबाहेक सबै समूह राताम्मे भएकोमा हाइड्रोपावरमा भने भारी गिरावट आएको छ।
विगत केही दिनदेखि हाइड्रोका सेयरमूल्यमा ब्रेक लागेको छ। सेयरमूल्य बढ्दै जाँदा आपूर्ति पनि बढ्ने र आपूर्तिले मूल्यमा दबाब दिने हुँदा करेक्सन आउने गरेको विश्लेषकहरु बताउँछन्। लगातार बढिरहेको हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा खरिदकर्ताभन्दा बिक्रीकर्ता हावी भएकाले मूल्य करेक्सन भएको उनीहरुको ठहर छ।
५० प्रतिशतभन्दा धेरै सेयरमूल्य बढिसकेको र प्रफिट बुक गरेर ठूला लगानीकर्ताहरु बजारबाट बाहिरिने क्रम चलिरहेकाले समेत हाइड्रोका सेयरमा करेक्सन आएको बताइन्छ।
यो साताभरि नै नेप्से परिसूचक निकै सुस्तायो। वाणिज्य बैंक समूह नचलेकाले समग्र नेप्से सूचकमा प्रभाव नपरेकाले समेत बजार सुस्ताइरहेको जानकारहरु बताउँछन्। नेप्से परिसूचक १६ सय विन्दु पार गरेपछि लगानीकर्ताको मनोबल उक्सिए पनि प्रफिट बुकका कारण परिसूचकले करेक्सन रुप धारण गरेको जानकार बताउँछन्।
हिजोआज निकै विकास बैंक र फाइनान्सका सस्ता सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। कम्पनीको आधारभूत विश्लेषण खराब भए पनि सेयर सस्तो भएकाले प्रायः लगानीकर्ताहरुको ध्यान तिनै सस्ता कम्पनीहरुमा अधिक रहेको र उच्च खरिदचापका कारण सर्किट लाग्ने अवस्था सिर्जना भइरहेको देखिन्छ।
हाल राम्रा र बलिया कम्पनीहरुको सेयरमूल्य स्थिर प्रायः भएकाले झुर नै भए पनि सस्ता तथा नराम्रा कम्पनी जथाभावी खरिद गर्दा छोटो समयमा अधिक मुनाफा कमाउने ध्याउन्न रहेको लगानीकर्ताहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ मध्ये ३ वटामा मात्र हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूहमा सबैभन्दा धेरै ३१.७२ अंकको उछाल आएको छ। लघुवित्त समूह ०.८५ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले बढेको छ।
आज दिन निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ७४.३१ अंकको गिरावट आएको छ। जलविद्युत् समूहमा ४४.५७ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ८.७१ अंक, व्यापार समूह २.३७ अंक, होटेल्स् समूह ३१.०४ अंक, विकास बैंक समूह २०.९९ अंक, उत्पादन तथा प्रशोधन समूह १३.३५ अंक, अन्य समूह ५.९२ अंक र बीमा समूह २४.१६ अंकले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँमा कारोबार भएको छ।
यो दिन अरुण काबेली पावरको सर्वाधिक १२ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोले १० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार गरेको आज सानिमा माई हाइड्रोपावरको ८ करोड ९७ लाख रुपैयाँ, कुमार बैंकको ८ करोड ६० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड १८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ९९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड ८७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको ५ करोड ७० लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ५ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मल्टीपर्पस फाइनान्स, कर्णाली विकास बैंक र समृद्धि फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्सको सेयरमूल्य १० प्रतिशत बढेको छ भने कर्णाली विकास बैंक र समृद्धि फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।
आज सबैभन्दा धेरै गुमाउन १० कम्पनीमा सबै हाइड्रो नै छन्। तीमध्ये सबैभन्दा धेरै सिनर्जी पावरको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago