काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा पुनः गिरावट आएर बजार बन्द भएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँ हाराहारीमा सीमित भएको छ।
आज नेप्से परिसूचक ९.४२ अंकको गिरावटका साथ १५६८.५९ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० को अंकले घट्दै ३११.४१ को विन्दुमा झरेको छ।
आज नेप्से परिसूचकको गिरावटमा अधिक बिक्री चाप देखिएको छ। प्रायः सबै समूहमा गिरावट आएको यो दिन हाइड्रोपावर समूहमा गइरहेको पहिरोले निरन्तरता पाएको छ।
स्मार्ट लगानीकर्ताहरुले केही समूह बनाएर हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा पम्प गर्दै माथि पुर्याई बेच्नेको ओइरो लागेकै कारण हाइड्रोपावर कम्पनीका सेयरमूल्य ओरालो यात्रा जारी रहेको विश्लेषकहरु बताउँछन्। आज नेप्सकै फ्लोरसिट अध्ययन गर्ने हो भने पनि हाइड्रोपावरका सेयरहरु निकै ठूला परिमाणमा बिक्री भएका छन्।
अघिल्लो साता हाइड्रोपावर बेचेर बाहिरिन छुटेकाहरुले हाल केही दिनयता अत्याधिक बिक्री चाप बढाउँदा हाइड्रोका सेयरमूल्यको पहिरो नथामिने र अझै भारी करेक्सन आउने विश्लेषकहरुको भनाइ छ। उनीहरुका अनुसार वित्त र हाइड्रोपावर कम्पनीका सस्ता मूल्य र थोरै सेयरमा खेल्ने खेलाडीहरुले लगानीकर्ताहरुको सेन्टिमेन्टलाई सही सदुपयोग गर्दै अधिक नाफा बुक गरिसकेको र नाफा बुक गर्नेहरु अब चाडपर्वपछि मात्रै सक्रिय रहने बताइएको छ।
नेप्से परिसूचकको गिरावट आउनुमा संस्थागत लगानीकर्ताहरुले सेयरको आपूर्ति बढाई पहिलो प्रतिवेदन आकर्षक बनाउनसमेत बिक्री गरी प्रफिट बुक गर्ने चटारो रहेका कारण यो करेक्सन यस साताभरि नै आउने विश्लेषकहरुको भनाइ छ।
यता नजिकिँदै गरेको दसैंतिहार र असोज मसान्तको ब्याज बुझाउन बैंकको ताकेताले समेत बजार करेक्सन मुडमा जाने ब्रोकरहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा मात्र हरियाली छायो भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै १०.८४ अंकको बढोत्तरी भएको छ। यस्तै व्यापार समूह १.४९ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन्।
आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ४८.४१ अंकको गिरावट आएको छ। जीवन बीमा समूह ३८.९४ अंकले ओरालो लागेको यो दिन बैंकिङ समूह ७.७ अंक, होटेल्स् समूह १०.०६ अंक, विकास बैंक समूह ८.५६ अंक, जलविद्युत् समूह २७.८४ अंक, वित्त समूह १६.३ अंक, अन्य समूह १.५१ अंक र लघुवित्त समूह १३.६३ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँमा कारोबार भएको छ।
यो दिन अरुण काबेली पावरको सर्वाधिक ११ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ज्योति विकास बैंकको ११ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन मुक्तिनाथ विकास बैंकको ८ करोड ५३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३२ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड २४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ११ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४ करोड १५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३ करोड ९७ लाख रुपैयाँ र एनएमबी बैंकको ३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ज्योति विकास बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago