काठमाण्डौ । सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ५६.०३ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक ३१२४.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.८१ अंकले घटेर ५७७.६६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने सवा १६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आज जलविद्युतमा नाफाबुक गर्दा बजारमा गिरावट आएको बताउँछन्। ‘१–२ दिनमै बजार सम्हालिन सक्छ, बजार ह्वात्तै घट्दैन’, उनले भने, ‘किनकि बजारमा कारोबारीहरु हावी भएका छन्।’

धेरै बैंकहरुको आधार दर घट्नु र स्थानीय निकायहरुमा ८० अर्ब रुपैयाँ जान लागेकोले तरलता पनि सहज हुने बिष्टको भनाइ छ। ‘निक्षेपमा ब्याज बढ्न सक्छ तर ऋणको ब्याजमा ०.५ प्रतिशतसम्म बढ्ला, यसले सेयर बजारलाई खासै असर गर्दैन’, उनले भने। 

आजको बजार घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बिष्ट बताउँछन्। ‘अबको केही दिनमै बजारले लय समात्छ’, उनले भने।

बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजार घट्नुलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारले करेक्सन खोजेको थियो, जुन आज भएको छ’, उनले भने।

विद्यु नियमन आयोगले जलविद्युतलाई हकप्रद जारी गर्न दिने वा नदिने भन्ने विषयमा तयार पारेको निर्देशिका जारी गर्न ढिलाइ गर्दा बजारमा अन्यौलता छाएको घिमिरे बताउँछन्। ‘त्यसैले आज जलविद्युतमा प्यानिक सेल देखिन्छ भने अरुको सामान्य हो’, उनले भने।

बजार बुलिस नै रहेकोले आधारभूत रुपमा बलिया कम्पनी र छिटै १५–२० प्रतिशत लाभांश दिने कम्पनी खरिद गर्ने गोल्डेन अवसर पनि रहेको घिमिरे बताउँछन्। ‘बजार अब नकारात्मक नै हुन्छ भन्ने कुनै आधार वा कारणहरु छैनन्’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह १.४७ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशतको बढोत्तरी भएको छ।

आज जलविद्युत समूह सर्वाधिक ६.२१ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ४.४३ प्रतिशतले घट्दा विकास बैंक समूहमा ३.९८ प्रतिशत, बैंकिङ समूहमा ०.९५ प्रतिशत, व्यापार समूहमा १.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.११ प्रतिशत, अन्य समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, जीवन बीमा समूहमा ०.७९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७५ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ७१ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ५८ करोड ५३ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ४७ करोड २० लाख रुपैयाँ, नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३९ करोड ६० लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको ३६ करोड १५ लाख रुपैयाँ, अपी पावरको ३५ करोड ३२ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३३ करोड ८८ लाख रुपैयाँ र नेको इन्सुरेन्सको ३० करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन अधिकांश जलविद्युत कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको छ। आजमात्रै १९ वटा जलविद्युत कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।

नेसनल हाइड्रो, एचआईडीसीएल, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रो, शिवश्री हाइड्रो र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा पञ्चकन्या माई हाइड्रो, हिमालयन पावर पाटर्नर, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो र हिमालयन ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। 

यो दिन युनाइटेट मोदी हाइड्रोको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।