काठमाण्डौ । दुुई दिनदेखि बिक्रीकर्ता घट्दै गएको बजारमा खरीदको चाप ह्वात्तै बढ्दा साताको अन्तिम कारोबार दिन बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १३.०३ अंकले बढी १४९३.२९ अंकको उचाईमा पुुग्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा दोब्बरले बढेर ६८ करोड ५७ लाख माथि पुुगेको छ । 

यो दिन साना किसान बैंकको २२ करोड बराबरको संस्थापक सेयर कारोबार भयो । यसले समेत कारोबार रकमलाई उचाईमा पुर्याउन थप मद्धत गर्यो । एशियाका अन्य देशका बजारहरुमा समेत उछाल आइरहेको बेला नेपालको सेयर बजारमा समेत दोहोरो अंकको उछालको संयोग जुरेको हो। 

यो दिन बजारलाई बढाउन जलविद्युत र माइक्रोफाइनान्स समूहले विशेष योगदान गरे । 

खरीदकर्ताहरुको रोजाईमा परेका १५ कम्पनीको सूचिमा ६ स्थान जलविद्युत कम्पनीले कब्जा गरे । धेरै सेयर बिक्री भएको कम्पनीको सूचिमा भने बिमा कम्पनीहरुको बाहुल्यता देखियो । धेरै बिक्री भएका १५ कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी र ६ स्थानमा वाणिज्य बैंकले कब्जा गरे।

यो जलविद्युत समूह ४६.०३(२.४५ प्रतिशत) अंकले बढ्यो भने माइक्रोफाइनान्स समूहको सूचक २४.३९(१.३९ प्रतिशत) अंकले वृद्धि भयो । होटल, विकास बैंक र बित्त समूहमा समेत १ प्रतिशत भन्दा बढीको बढोत्तरी भयो । यी तीन समूहमा क्रमश २२.६५, २२.२ र ९.५५ अंकको बढोत्तरी भयो । 

यो दिन वाणिज्य बैंक(बैकिङ) समूह १०.७ अंकले बढ्यो भने बिमा समूह २६.३१, उत्पादनमूलक १५.५७ र अन्य समूह ४.९१ अंकले बढे । 

ट्रेडिङ समूहमा भने ३.३७ अंकको झिनो गिरावट देखियो । 

‘क’ वर्गका कम्पनीहरुको सेयर खरीदमा लगानीकर्ताको आकर्षण देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.४७ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा ०.९७ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा १ सय ६५ कम्पनीका २१ लाख ९९ हजार १५ हजार ९ सय कित्ता सेयर ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी सानाकिसान बैंकको संस्थापक सेयर किनबेच भएको बजारमा बुटवल पावर कम्पनीले लिमीटेडले २ करोड ८१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६८ लाख, नेपाल बैंकले २ करोड ५० लाख बढीको कारोबार गरे । साना किसान विकास बैंकको २ करोड ४३ लाख बढीको साधारण सेयर समेत किनबेच भएको बजारमा सिटिजन्स बैंक इन्टरनेशनलले २ करोड १८ लाख, एभरेष्ट बैंकले १ करोड ९३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ३३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको सेयर मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य ८.६७ प्रतिशतले वृद्धि भयो । यस्तै, मिथिला लघुवित्त विकास बैंकको मूल्य ८.०७ प्रतिशत, नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ६.६३ र हिमालयन पावर पार्टनर लिमीटेडको मूल्य ६.६१ प्रतिशतले वृद्धि भयो । 

यो दिन हिमालयन जनरल इन्स्योरेन्सको मूल्य घट्यो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ३.४४ प्रतिशतको गिरावट आयो।