काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। आज कारोबार रकम भने पौने ३ अर्ब रुपैयाँ भएको छ।

यो दिन नेप्से परिसूचक ३ अंकको बढोत्तरीका साथ १५७५.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकको वृद्धिसँगै ३१३.६२ को उचाइमा पुगेको छ। 

आज कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) ३–४ पटक अवरुद्ध हुन पुग्यो। केही ब्रोकरको चल्ने र केही ब्रोकरको टीएमएस नचलेका कारणसमेत दैनिक कारोबार रकम प्रभावित बनेको ब्रोकरहरु नै बताउँछन्।

स्रोतका अनुसार ५० वटै ब्रोकरको डीएनए बन्द भएको र पुनः चालु गर्दा सिस्टममा अवरोध आएको थियो। टीएमएसमा अवरोधका बाबजुद पनि आज दैनिक कारोबार रकममा उल्लेख्य बढोत्तरी हुनमा बाधा पुगेको हो।

आज आइतबार नेप्सेमा हाइड्रोपावर र होटेल्स समूहका कम्पनीहरुको सेयरमूल्यमा पहिरो नै गएको छ। गत साताभरि नेप्सेमा हाइड्रो र होटलका सेयरमूल्यमा उछाल आएको थियो। ती समूहका सेयरमूल्यमा निकै बढोत्तरी आउँदा लगानीकर्ताले प्रफिट बुक गर्ने र सोही प्रफिट बुक गर्ने क्रममा अधिक सेयर आपूर्तिकै कारण सेयरमूल्यमा भारी करेक्सन आएको विश्लेषकहरुको भनाइ छ।

आज नेप्सेमा सर्वोत्कृष्ट कमाउने १० कम्पनीमध्ये ६ कम्पनीमा फाइनान्स समूहअन्तर्गतका कम्पनीहरुले कब्जा जमाएका छन्। गत साता हाइड्रो र होटलमा झुम्मिएका लगानीकर्ता निकै तल्लो मूल्यमा रहेका फाइनान्स कम्पनीका सेयरहरुमा आकर्षित भएका छन्।

नेप्से परिसूचक १६ सय पार गरेको आजको दिन टीएमएसमा भएको गडबढीकै कारणसमेत लगानीकर्तामा आत्मबल खस्केको जानकारहरु बताउँछन्। सेयर बजारमा पछिल्लो समय बुलिस यात्रामा रहेका लगानीकर्ताहरु प्रविधि सहज भए सेयर खरिदबिक्रीमा उत्साहपूर्ण उपस्थिति जनाउन सकिने बताउँछन्।

आज नेप्सेमा उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।

यो दिन बैंक, विकास बैंक र वित्त समूह चम्किए। ती तीनै समूहमा क्रमशः १९.४१ अंक, २५.८८ अंक र २८.६६ अंकको बढोत्तरी भयो।

आज होटेल्स् समूहमा सबैभन्दा धेरै गिरावट देखियो। यो समूहमा ९६.६५ अंकको गिरावट आएको छ।

जलविद्युत् समूहमा ५२.३७ अंकको गिरावट आएको यो दिन निर्जीवन बीमा समूहमा ७०.११ अंक, उत्पादन तथा प्रशोधन समूहमा २.१७ अंक, अन्य समूहमा १०.३६ अंक, लघुवित्त समूहमा १३.८१ अंक, बीमा समूहमा ५६.२६ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आइतबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १८८ कम्पनीका सेयर ६४ हजार ५२० पटक कारोबार हुँद ७० कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ९६ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। सात कम्पनीका सेयरमूल्यमात्र स्थिर रहयो। आज ती १८८ कम्पनीका ९२ लाख २३ हजार ७१२ कित्ता सेयर २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ रुपैयाँमा कारोबार भएको छ। 

आज रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक १९ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भयो। 

नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २९ लाख रुपैयाँको कारोबार भएका यो दिन नेपाल बैंकको १४ करोड २० लाख रुपैयाँ, सिभिल बैंकको ७ करोड ५० लाख रुपैयाँ, अरुण काबेली पावरको ७ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४१ लाख रुपैयाँ, कुमारी बैंकको ६ करोड १६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५ करोड १७ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र गुमाउनेहरु

आज खानीखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै कमाए। खानीखोलाको सेयरमूल्यमा १० प्रतिशत र रिलायन्स फाइनान्स तथा सप्तरीको डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज घलेम्दी हाइड्रो र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ। 

आजबाट कारोबारमा आएको लिवर्टी इनर्जीसँगै हिमाल दोलखा हाइड्रोपावर, हिमालय ऊर्जा, पाँचथर पावर, जोशी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। लिवर्टी र हिमाल दोलखामा १० प्रतिशत र हिमालय, पाँचथर, जोशी तथा पञ्चकन्यामा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

आज ओरेन्टिल होटेल्सको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।