काठमाण्डौ । हाइड्रोपावरका टाइकून गुरुप्रसाद न्यौपानेले सरकारी द्विविधा र स्टक डिलरको अभावका कारण हाइड्रोपावरको सेयरमूल्य पहिरो गएको दाबी गरेका छन् । 

साना लगानीकर्ताहरुले सहकारीबाट ऋण ल्याई दोस्रो बजारमा लगानी गरेका र सेयर धितोकर्जामा समेत बैंकले कडाइ गरेपछि दोस्रो बजारमा हाइड्रोका सेयरमूल्यमा पहिरो गएको न्यौपानेको बुझाइ छ । 

वर्तमान अर्थमन्त्रीको अण्ठसण्ठ भाषण र स्टक डिलरको अभावसमेत अर्को कारण रहेको उल्लेख गर्दै न्यौपानेले हाइड्रोपावर कम्पनीका वासलात हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको दाबीसमेत गरे । 

संस्थागत लगानीकर्ताको अभाव र नेप्सेले सञ्चालनमा ल्याएको नेप्से अनलाइन प्रणालीको त्रूटि नै पनि हाल बजार घट्नुको कारण रहेको न्यौपाने बताउँछन् । एनआरएनको लगानी पूँजीबजारमा हुनुपर्ने तर्क राखेका उनले कम्पनीहरुलाई मुम्बई स्टक एक्सचेञ्जमा सूचीकृत गर्ने भनिए पनि सरकार कानमा तेल हालेर बसेको आरोपसमेत लगाए ।

पूँजीबजारको सुधार र विस्तारमा सरकार नलागे बजारले नकारात्मक दिशा तय गर्ने उनको भनाइ छ । 

तीन वर्षअघि बजारको ऐतिहासिक उचाइ कृत्रिम रहेको न्यौपानेको ठम्याइ छ । ‘लगानीकर्ताले त्यतिबेला बैंकसँग हाइड्रोलाई तुलना गरे।’न्यौपानेले बिजशालासँग भने–‘बैंकको सधैं हाइड्रोभन्दा नाफा उच्च हुन्छ । बैंक सेवाप्रदायक हो भने हाइड्रो पूर्वाधार सेक्टर हो । त्यो बेलामा हाइड्रो बजारमा ओभरभ्यालुअड थियो ।’

बिजशालासँगको विशेष अन्तर्वार्तामा न्यौपानेले सरकार हिजोआज हाइड्रो सेक्टरमा लगानी बढाइरहेको निजी क्षेत्रलाई हतोत्साहित गर्र्दै आफैं लगानी गर्ने होडमा पसेका कारण जलविद्युत क्षेत्र रुग्ण बनिरहेको बताए ।

निकट समयमा नै अपर तामाकोशीको बत्ती आएपछि नेपालमा बिजुली खेर जाने संकेत पाएको बताउँदै न्यौपानेले इनर्जी बैंकिङको अवधारणामा ध्यान दिन सरकारलाई सुझाए ।