– प्रकाश न्यौपाने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उकालो लागेको सेयर बजार २२६० भन्दा माथि पुगेर दुई दिनको करेक्सनपछि २१४९ सम्म झरेर अघिल्लो हप्ता बन्द भयो। दुई दिनको सार्वजनिक बिदापछिआज खुलेको बजार फेरि ३२ अंकले उकालो लागेर २१८२ मा बन्द भएको छ।
यो साताको सुरुआतदेखि नै सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु मन्त्री छनोटमा लागिपरे। अन्ततः आज सरकारले पूर्णता पाएको छ। एकातिर दलहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागिरहेकै अवस्थामा अर्कोतिर सेयर बजारका लगानीकर्ताहरुले भने नयाँ मन्त्रीहरु कस्ता आउलान् र आउने मन्त्रीहरुले बजारलाई कसरी हेर्लान् भन्ने विषयलाई निकै चासोका साथ हेरिरहेका थिए। अहिले मन्त्रीहरुमा नयाँ र युवापुस्तालाई पनि समेटिएपछि लगानीकर्ताहरुमा उत्साह देखिएको छ।
आज बजार खुलेको पहिलो घन्टा छिनमै हरियो र छिनमै रातो हुँदै बित्यो। सेयर धितो राखेर ऋण लिएर फेरि सेयर खरिद गर्ने योजना बनाएर ब्रोकर हाउसमा छिरेका पुराना लगानीकर्ता र ब्रोकर सञ्चालकबीच निकैबेर छलफल पनि चल्यो र आपसी समझदारी पनि बन्यो। जब बजार २० अंकभन्दा बढीले उकालो लाग्यो तब लगानीकर्ताहरुमा खुसियाली छायो।
ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘ऊर्जामन्त्रीमा इमान्दार, जोशिला र भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका राजेन्द्र लिङ्देन आएका छन्। अब उनले ऊर्जा क्षेत्रमा हाइड्रोपावरको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न उचित पहल गर्न सके मुलुकको विकासमा कायापलट हुनेछ।’
उनीसँगै रहेका अर्का लगानीकर्ताले थपे, ‘कुलमान घिसिङले देशलाई लोडसेडिङमुक्त बनाएर विद्युत प्राधिकरणलाई करोडौँ नाफामा लगेको उदाहरण ताजै छ। लिङ्देनले पनि चुनावको बेला कसम खाएजस्तै काम गर्नेमा ढुक्क हुन सकिन्छ।’
जलविद्युत क्षेत्रको उत्पादन र बिक्रीवितरणमा मन्त्री लिङ्देनले इतिहास रच्नेमा ती लगानीकर्ता आशावादी देखिन्थे। ‘योसँगै सेयर बजारमा पनि हाइड्रोपावर कम्पनीको दबदबा रहनेछ’, ती लगानीकर्ताले भने, ‘अब हाइड्रो कम्पनीमा लगानी गर्नेहरुले राम्रै नाफा कमाउने देखिन्छ।’
अर्को एउटा ब्रोकर हाउसमा भेटिएकी नितु तामाङ सरकारले हाइड्रोपावरलाई प्राथमिकतामा राखेर उत्पादन र घरेलु उपभोग बढाउने हो भने पेट्रोलियम पदार्थ खरिद गर्न बाहिरिने ठूलो धनराशि बचाउन सकिने बताउँछिन्। ‘यसरी बचाउन सकिएको रकम देश विकासमा लगाउन सकिन्छ’, उनी भन्छिन्।
स्वदेशमै उत्पादित विद्युतले देश चल्न थालेपछि जलविद्युत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताले पनि राम्रै प्रतिफल पाउने तामाङको आशा छ। ‘अहिले पनि थोरै पैसाले धेरै कित्ता सेयर आउने, कमाइ पनि राम्रै हुने र घट्दा पनि अहिलेको सेयरमूल्य कम भएका कारण घाटा कम हुन्छ’, उनले भनिन्, ‘त्यसैले सबैको नजर अहिले हाइड्रो कम्पनीहरुमै रहेको छ। विगतमा जस्तै हाइड्रोका सेयरहरु धेरै माथि गइसकेपछि भने लगानी गर्न विचार पुर्याउनुपर्छ।’
ऊर्जामन्त्री बनेका लिङ्देनबाट आशा गर्न सकिने पनि तामाङले बताइन्। ‘लिङ्देनले योजनाबद्ध ढंगले काम गरेर यसपटक ऊर्जा क्षेत्रले राम्रै फड्को मार्न पनि सक्छ’, उनले भनिन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19