-मनिष सोती
काठमाण्डौ । नवीनतम ज्ञान, सीप–क्षमता भएका वा नयाँ वस्तु, सेवा र प्रविधिसँग सम्बन्धित व्यवसाय स्थापना गर्न अथवा स्थापना भइसकेको तर आर्थिक श्रोत साधन र व्यवसायिक सीप, कौशल र दक्षताको कमीले विस्तार गर्न नसकेको व्यवसायलाई नया उचाई प्रदान गर्न प्राइभेट इक्विटी फण्डले सहयोग गर्न सक्दछ । 

यदि तपाईसँग दीर्घकालीन अवधिसम्म लगानी गरी उच्चतम प्रतिफल हासिल गर्ने चाहना र लगानी गर्नसक्ने क्षमता छ भने तपाईका निम्ति प्राइभेट इक्विटी फण्डमा लगानी गर्नु उचित हुन सक्छ, किनकी अन्य लगानी उपकरणहरुको तुलनामा प्राइभेट इक्विटी फण्डको प्रतिफल अधिक हुन्छ । 

पर्याप्त पुँजी भएका र दीर्घकालीन अवधिसम्म लगानी गर्न चाहने लगानीकर्ता तथा ज्ञान, सीप र क्षमता भएर पनि आवश्यक पुँजीको अभावले व्यवसाय संचालन गर्न नसकेका उद्यमीलाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राइभेट इक्विटी फण्ड संचालनका लागि अनुमति दिन थालेको छ । 

धितोपत्र बोर्डले ‘अर्थतन्त्रमा लगानीको नयाँ स्रोत व्यवस्था गर्न सहयोग पुग्ने हिसाबले ‘विशिष्टीकृट लगानी कोष नियमावली, २०७५’ को व्यवस्थाअनुसार यस्ता फण्डहरु सञ्चालनको अनुमति दिएको हो । नयाँ व्यवसायहरु सुरुवात गर्न यस्ता इक्विटी फण्डबाट सहयोग लिन सक्नुहुन्छ । तपाईसँग पर्याप्त पुँजी छ र लामो समयका लागि लगानी गर्न खोजिरहनु भएको छ भने पनि प्राइभेट इक्विटी फण्ड लगानीको सही अवसर हुनसक्छ । 

यसै सन्दर्भमा धितोपत्र बोर्डबाट २०७९ भदौ १५ मा विशिष्टीकृत लगानी कोष सञ्चालनको अनुमतिप्राप्त प्रभु क्यापिटल लिमिटेडले त्यस्ता लगानीकर्तालाई लक्षित गर्दै गत असोज १ गतेदेखि ‘प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१’ संचालनमा ल्याएको छ । सो कोष नेपाल धितोपत्र बोर्डमा गत असार ७ गते रजिष्टर गरिएको थियो ।

प्रभु क्यापिटल लिमिटेड फण्ड म्यानेजर रहेको उक्त प्राइभेट इक्विटी फण्डको आकार ५० करोड रुपैयाँ रहेको छ । क्यापिटलकाअनुसार फण्डको अवधि १० वर्ष रहनेछ । 

साथै लगानीको न्यूनतम प्रतिफल(हर्डल रेट) वार्षिक रुपमा ८.५० प्रतिशत तोकिएको छ भने र अपेक्षित प्रतिफल(आईआरआर) २२.९७ प्रतिशत प्रक्षेपण गरिएको छ । 

त्यस्तै, कोष व्यवस्थापन शूल्क (म्यानेजमेन्ट फि) २ प्रतिशत, मुनाफामा साझेदारी(पर्फमेन्स फि) आईआरआर ८.५० प्रतिशतदेखि माथि १८ प्रतिशतसम्म भएमा १५ प्रतिशत र आईआरआर १८ प्रतिशतदेखि माथि भए २० प्रतिशत हुने क्यापिटलले जनाएको छ । 

पर्याप्त पुँजी भएकाहरुलाई लामो समयका लागि लगानी गर्न प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१ उपयुक्त अवसर हुने प्रभु क्यापिटलका विशिष्टीकृट लगानी कोष (एसआईएफ) प्रमुख सबिन महर्जनले बताए । 

‘प्राइभेट इक्विटी फण्ड अन्य बन्दमुखी तथा खुलामुखी म्युचुअल फण्डभन्दा बेग्लै छ । लगानीकर्ताहरुबाट फण्ड संकलन गरी लगानी गर्ने उद्देश्य उस्तै भएपनि प्राइभेट इक्विटीको लगानी गर्ने तरिका र लक्षित क्षेत्र फरक हुन्छ,’ उनले भने, ‘संस्थागत लगानीकर्ता तथा हाई नेटवर्थ भएका व्यक्तिहरुलाई लक्षित गरी हामीले यस प्राइभेट इक्विटी फण्ड इस्यु गरेका हौं, जसमा लगानीकर्ताले न्यूनतम ५० लाख रुपैयाँ(संस्थागत लगानीकर्ताको हकमा १ करोड) लगानी गर्नुपर्ने हुन्छ । यस्तो लगानीमार्फत कोषमा संकलन भएको पुँजी कोष व्यवस्थापकले विभिन्न प्रक्रियामार्फत छनौट गरेका विविध क्षेत्रका कम्पनीहरुमा स्वःपूँजी (इक्विटी) को रुपमा लगानी गर्नेछ । प्राइभेट इक्विटीले ती कम्पनीहरुलाई आर्थिक योगदानको अलावा व्यवसायसँग सम्बन्धित विशेषज्ञहरुको सहयोग उपलब्ध गराउने, कम्पनीको शाखः र विश्वसनियतामा अभिबृद्घि गर्ने तथा आफ्नो व्यवसायिक सम्पर्क माध्यमहरु परिचालित गरी कम्पनीको व्यवसाय विस्तारमा टेवा पुर्याउने जस्ता क्रियाकलाप समेत गर्छ । यसरी कम्पनीको व्यवसायमा सकारात्मक परिवर्तनपश्चात वा कम्पनीले साधारण सेयर (आईपीओ) जारी गरे पश्चात लगानी गरिएको शेयर मुनाफामा बेची सो मुनाफा कोषका लगानीकर्ताहरुलाई वितरण गरिनेछ ।’ 

‘म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी गर्छन भने प्राइभेट इक्विटी फण्डले  नेप्सेमा सूचीकरण नभएका तर उत्पादन र प्रशोधन, उर्जा र जलबिद्युत, वित्तीय सेवा, सूचना प्रविधि र इ–कमर्स, पर्यटन, स्वास्थ्य र शिक्षा, कृषि लगायतका लगानी क्षेत्रका र राम्रो प्रतिफल दिनसक्ने कम्पनी छनौट गरी लगानी गर्छ । हामीले नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुलाई वित्तीय पहुँच प्रदान गर्नका लागि यो इक्विटी कोष संचालन गरेका हौं र कस्तो कम्पनीमा लगानी गर्ने त्यसका लागि पनि हामीले लगानी नीति बनाएका छौं, लगानीकर्ताले लगानी गरेको दुई वर्षपछि नियमित प्रतिफल अवश्य पाउनुहुनेछ।’, उनले भने ।

प्रभु क्यापिटलले देशमा उपलब्ध पूँजीको प्रभावकारी परिचालनका लागि प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड जारी गरेको महर्जनले बताए । ‘यसबाट स्वदेशी उद्योगको विकासमा योगदान पुग्नुका साथै नयाँ रोजगारीको सिर्जना तथा आयातमा निर्भरता घटाई निर्यात प्रबद्र्धन समेत गर्न सकिन्छ । यसका साथै कम्पनीहरुको कारोवार थप पारदर्शी हुनगई देशको राजश्व संकलनमा समेत सकारात्मक प्रभाव पर्नेछ’ उनले भने । 

प्रभु डायनामिक प्राइभेट इक्विटी फण्डको विधानअनुसार कोषको अनुगमन र सुपेरिवेक्षणका लागि ५ जनाको संचालक समिति गठन गरिनेछ, जसमा कोष व्यवस्थापकको प्रमुख, कोषको प्रमुख, कोष प्रायोजकको प्रतिनिधि, कोषको सर्वसाधारण लगानीकर्ता(लिमिटेड पार्टनर)को तर्फबाट १ जना प्रतिनिधि सदस्य रहनेछन् भने १ जना स्वतन्त्र संचालक रहनेछन् । यद्यपि लगानीको रणनीतिको आधारमा कोषले गर्ने लगानीको सम्बन्धमा निर्णय गर्ने जिम्मेवारी भने कोष व्यवस्थापकको लगानी समिति वा संचालक समितिको हुने महर्जनले बताए । यस अलावा लगानीको भ्यालुएसन र फण्डको न्याभको नियमित लेखापरीक्षण समेत गरिने उनले बताए । 

प्रभु डायनामिक प्राइभेट इक्विटी फण्डमा नै लगानी किन ? 
बैंक, इन्सुरेन्स कम्पनी, पेन्सन फण्ड, उपदान कोष जस्ता विभिन्न संस्थागत लगानीकर्ता र हाई नेटवर्थ भएका व्यक्तिहरुले समेत प्रभु डायनामिक प्राइभेट इक्विटी फण्डमा लगानी गर्न उचित हुने महर्जन बताउँछन् । ‘यस फण्डमा हर्डल रेट ८.५० प्रतिशत राखिएको छ, यो आकर्षक दर हो’ उनले भने, ‘अन्य लगानीका फण्डहरुको तुलनामा यस फण्डमा लगानी गर्दा रिटर्न पाउने ग्यारेन्टी समेत हाई छ ।’

यसका साथै प्रभु डायनामिक प्राइभेट इक्विटी सेबोनबाट समेत निर्देशित हुने भएकोले लगानी जोखिम न्यून हुने उनले बताए । ‘कम्पनीहरु छनौट गर्दा जोखिमको आधारमा सेक्टर विविधिकरण गरिने र तय गरिएका मापदण्ड पूरा गर्ने कम्पनीहरुको पहिचान गरी तिनीहरुको आन्तरिक र बाह्य विषयगत विशेषज्ञहरुद्वारा सूक्ष्म विश्लेषण गराई उपयुक्त भएमा मात्र लगानी गरिनेछ । ईकाइधनीहरुलाई अधिक प्रतिफल दिन कोषले जोखिमको उचित व्यवस्थापन गर्देै लगानीबाट अधिकतम मुनाफा हासिल गर्ने प्रयास गर्नेछ । यद्यपि लगानीमा अन्तर्निहित हुने जोखिमहरु, जस्तैः बजार जोखिम(मार्केट रिस्क), तलरता जोखिम(लिक्विडिटी रिस्क), पूँजी जाखिम(क्यापिटल रिस्क) आदि, प्राइभेट इक्विटी कोषले गरेको लगानीमा समेत विद्यमान रहन्छन्’ महर्जनले भने । 

प्रभु डायनामिक प्राइभेट इक्विटीमा लगानी गर्ने प्रक्रिया 
प्रभु् डायनामिक प्राइभेट इक्विटी फण्डको ईकाइमा लगानी गर्न इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलमा गएर आवेदन फारम भर्न सकिनेछ । प्राप्त आवेदन फारमहरुको आधारमा कोष व्यवस्थापकले सम्भावित लगानीकर्ताहरु छनौट गरी लगानी सम्झौता गर्नेछ । 

आवेदन फारमसँगै लगानीको ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ भने बाँकी रकम कोष व्यवस्थापकले मागेको समयमा भुक्तानी गर्ने प्रतिबद्धता दिनुपर्नेछ । सो रकम संकलनका लागि कोष व्यवस्थापकले सूचना जारी गरेको मितिले २१ दिनभित्र भुक्तानी गर्नुपर्नेछ । 

लगानीको सबै प्रक्रिया पूरा भइसकेपछि कोष व्यवस्थापकले लगानीकर्तालाई इकाईधनी प्रमाणपत्र प्रदान गर्नेछ । 

लगानीकर्तालाई कसरी प्राप्त हुन्छ प्रतिफल ? 
प्रभु डायनामिक प्राइभेट इक्विटी फण्डमा लगानी गर्दा ईकाईधनीहरुले लगानीको आधारमा प्रतिफल पाउनेछन् । कोषले गरेको आर्थिक प्रक्षेपणअनुसार लगानीकर्ताले १० वर्षे योजनामा पहिलो र दोस्रो वर्ष लाभांश पाउँदैनन् भने तेस्रो वर्षदेखि लगातार १० वर्षसम्म लाभांश पाउनेछन् । लाभांश नगदमा वितरण गरिनेछ ।

क्यापिटलकाअनुसार इकाईधनीले प्राइभेट इक्विटी फण्डमा तेस्रो वर्ष १० प्रतिशत नगद लाभांश, चौथो वर्ष १५ प्रतिशत, पाँचौ वर्ष २० प्रतिशत गरी क्रमशः लाभांश दर बढाउँदै लानेछ । लगानीकर्ताले कोषको अवधिभित्र आफूले लगानी गरेको रकमको चार गुणासम्म प्रतिफल प्राप्त गर्ने क्यापिटलका एसआईएफ प्रमुख सविन महर्जनले बताए । 

‘हामीले न्यूनतम अवधिमा अधिकतम रिर्टन आउनेगरी पोर्टफोलियो कम्पनीहरुमा लगानी गर्नेछौं । यदि फण्डले गरेको लगानीबाट छिट्टै रिटर्न हासिल गरेमा इकाईधनी वा लगानीकर्तालाई छोटो समयमै पनि प्रतिफल बाँड्न सक्नेछौं’ उनले भने ।