काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। 

कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। 

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज भदौ २४ गते साँझसम्म यो आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.८७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। 

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।