काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले निजी क्षेत्रले उठाएका कुरा निजी क्षेत्रको मात्र हो भन्ने बुझाइ गलत रहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘अहिलेको नीतिगत व्यवस्थाका विषयमा उद्योगी–व्यवसायी उठाएका माग निजी क्षेत्रको मात्र हो भन्ने बुझाइ नितान्त गलत हो’, उनले भने, ‘निजी क्षेत्रले उठाएका माग सबै क्षेत्रका लागि हो।’

नेपालको अर्थतन्त्र सुध्रिएन भने मुद्रास्फीति १२ प्रतिशत पुग्ने भनिएको उल्लेख गर्दै ढकालले भने, ‘त्यस्तो अवस्था आउने हो भने पुसपछि अर्थतन्त्र झनै डलरलाग्दो अवस्था आउन सक्छ।’

निजी क्षेत्र र सरकारी निकायबीच पनि राम्रोसँग समन्वय हुन नसकेको गुनासो पनि ढकालले गरे। ‘सम्बन्धित विभागसँग पनि अन्तरसमन्वय हुन नसकेको अवस्था छ’, उनले भने, ‘यिनै कारणले अप्ठ्यारो स्थिति सिर्जना भएको छ।’