कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ अन्तिम मत परिणामले स्वयं वडाध्यक्षका उम्मेदवार नै चकित परेका छन्। 

मत गन्दागन्दै हार स्वीकार गरेर घर फर्किएका जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्ष उम्मेदवार दानसिंह जोगी पछि ३ मतले विजयी भएपछि आफैँ चकित परेका हुन्। 

यो वडामा वडाध्यक्ष पदमा जसपा र कांग्रेस उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा भएको थियो। जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए। तर, पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल फर्किए। 

कांग्रेसका उम्मेदवार राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६६९ मत पाउँदा जोगीले ६७२ मत पाएका छन्।

मतगणना भइरहँदा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर बाहिरिएको थियो। त्यसपछि जोगी मतगणनास्थलबाट घर फर्किएका थिए। 

उता कांग्रेसका नेताकार्यकर्ता विजयोत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले जानकारी गराएका थिए। 

त्यसपछि कांग्रेस नेताकार्यकर्ता निराश भए भने घर पुगेका जोगीले फेसबुकमार्फत आफू विजय भएको जानकारी पाएपछि पुनः मतगणनास्थल फर्किएर विजय जुलुसमा सहभागी भएका थिए।