काठमाण्डौ । गत २४ घण्टाको अवधिमा देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । योसहित हालसम्म देशमा पहिचान भएका कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । 

यो अवधिमा १ हजार ५५२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको हुनेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ भने निको हुने दर ७०.३५ प्रतिशत रहेको छ । 

गत २४ घण्टामा देशभर १२ हजार ४२७ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ७१ को रिपोर्ट पोजिटिभ आएको हो । 

यो अवधिमा काठमाण्डौ जिल्लामा सदा झै सबैभन्दा बढी  १ हजार १४५ संक्रमित थपिएका छन् । भक्तपुरमा ११०, ललितपुरमा १६१, बर्दियामा १०४, रुपन्देहीमा ९८ संक्रमित भेटिएका छन् । अन्य जिल्लामा थपिएका संक्रमितको संख्या निकै कम छ । 

पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै २२ संक्रमितको ज्यान गएको छ । जसमध्ये ५ महिला र १७ पुरुष रहेका छन् । मृतकहरुमध्ये काठमाण्डौ उपत्यकाका तीन जिल्लाका ८ जना रहेका छन् । काठमाण्डौका १ महिला र ४ पुरुष, भक्तपुरका २ पुरुष तथा ललितपुरका १ पुरुषको ज्यान गएको हो । 

यस्तै, सुनसरीका एक महिला र एक पुरुष, धनकुटाकी एक महिला, सर्लाहीका एक पुरुष, नुवाकोटका एक पुरुष, चितवनको एक महिला र ३ पुरुष, मकवानपरकी एक महिला, सिन्धुपाल्चोकका एक पुरुष, र रुपन्देहीका ३ पुरुषको मृत्यु भएको छ । मृतकहरुको उमेर ३८ देखि ९८ वर्षसम्म रहेको छ ।