काठमाण्डौ । नेप्से परिसूचक अलटाइम विन्दुमा पुगेर यो साताको कारोबार बन्द भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २१९४.४९ अंक कायम भएको हो। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। 

यसअघि परिसूचक हिजो बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। परिसूचक बुधबार १३.०७ अंकले बढेर २१७८.५७ को उचाइमा पुगेको थियो।

सूचकमा भएको दोहोरो अंकको वृद्धिसँगै कारोबार रकमसमेत हिजोको तुलनामा बढेर झन्डै ६ अर्ब रुपैयाँ उक्लिएको छ।

आज परिसूचकले २२ सयको विन्दु नाघेको थियो। तर बढेको सूचकमा प्रफिट बुक गर्न कारोबारी हावी भएकाले बिक्री चाप बढेका कारण सूचक २२ सयमाथि उक्लन नसकेको विश्लेषकहरुको भनाइ छ।

हाइड्रोपावर समूहका कतिपय कम्पनीको सेयरमूल्यमा भारी गिरावट आउँदा आज निर्जीवन बीमा समूहका सेयरमूल्यमा भने उछाल आएको देखिन्छ। कम आपूर्ति भएका निर्जीवन बीमा र कम आपूर्ति भएका एसटीसी, एचडीएललगायतका सेयरमा लगानीकर्ता झुम्मिएका थिए। छोटो समयमा पुँजीगत लाभ हासिल गर्न कम आपूर्ति भएका उत्पादन समूह र निर्जीवन बीमा समूहका सेयरमा लगानीकर्ता झुम्मिएका हुन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १४४.८६ ले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ११५.८३ अंकले बढेको आज व्यापार समूहमा ११२.६१ अंक, बैंकिङ समूहमा १३.०४ अंक, होटेल्स् समूहमा ५.९४ अंक, विकास बैंक समूहमा १० अंक, जलविद्युत् समूहमा १०.६४ अंक, वित्त समूहमा १०.२४ अंक, लघुवित्त समूहमा ४६.५३ अंक, जीवन बीमा समूहमा ३८.८५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ। 

आज अन्य समूह ३.६४ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन प्रभु बैंकको सबैभन्दा बढी ३१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको आज चिमिले हाइड्रोपावरको २४ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३ लाख रुपैयाँ, एनआईसी एसियाको २२ करोड ६१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड ८७ लाख रुपैयाँ र नेपाल टेलिकमको १२ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा आईएमई जनरल इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ।

यो दिन एभरेस्ट बैंकको सीपी र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।