काठमाण्डौ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ। 

पछिल्लो मतपरिणामअनुसार ७२७ वटा पालिकाको सार्वजनिक भएको छ। कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेर पहिलो स्थानमा छ। कांग्रेसले १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ। 

यस्तै एमाले हालसम्म १९८ वटा पालिकाको प्रमुख जितेको छ। २२६ वटा पालिकाको एमाले उपप्रमुख पदमा विजयी भएकी छ। 

त्यस्तै माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ। १२८ वटा पालिकाको उपप्रमुख पदमा माओवादी केन्द्र विजयी भएको छ। 

जनता समाजवादी पार्टी २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पदमा विजयी भएको छ। एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ४ वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुखमा विजयी भएको छ। 

राष्ट्रिय जनमोर्चाले ४ वटा पालिकाको प्रमुख र २ वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ४ वटा पालिकाको प्रमुख र ३ वटा पालिकाको उपप्रमुख जितेको छ।

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ वटा पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेको छ। 

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। यस्तै विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।

हालसम्म २ उपमहानगरसहित पालिकाका १२ जना स्वतन्त्र उम्मेदवार प्रमुख जित्न सफल भएका छन्। पाँचजना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।

अब २४ पालिकाको नतिजा आउन बाँकी छ। जसमा एमाले ६ वटा पालिका, कांग्रेस ५, जसपा ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २–२ जनाले अग्रता लिएका छन्।