काठमाण्डौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। 

अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन्। 

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ। अर्थात ४५.३९ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन्। हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ। अन्तिम मतपरिणाम आएकामध्ये २७.६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन्। 

६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ। अन्तिम मतपरिणा आएकामध्ये २१.६३ प्रतिशत स्थानीय तहको प्रमुख माओवादी उम्मेदवार विजयी बनेका छन्।  

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख जितेको छ। यो भनेको अन्तिम मतपरिणाम आएका स्थानीय तहको १.४१ प्रतिशत हो। 

जनता समाजवादी पार्टी (जसपा) नेपालले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ। उसले अन्तिम मतपरिणाम आएको स्थानीय तहमध्ये १.०६ प्रतिशत स्थानमा जितेको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाले , नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ र स्वतन्त्र उम्मेदवारले ५ स्थानीय तहमा जित हासिल गरेका छन्।