काठमाण्डौ। हावाबाट कोरोनाभाइरस संक्रमण सर्न सक्ने भन्दै वैज्ञानिकहरुले यो भाइरससँग जोडिएका दिशानिर्देश संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई सुझाव दिएका छन्।

न्युयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले हावाका साना कणहरुमा रहने कोरोनाभाइरसबाट पनि मानिस संक्रमित हुन सक्छन्। त्यसैले उनीहरुले डब्ल्यूएचओलाई खुला पत्र लेख्दै यो भाइरस नियन्त्रणका लागि तयार गरिएको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका हुन्।

यो खुला पत्र आउँदो साता कुनै एउटा साइन्स जर्नलमा प्रकाशित गर्ने योजनामा वैज्ञानिकहरु रहेका छन्। पत्रमा ३२ देशका २३९ वैज्ञानिकहरुले हावाका माध्यमबाट पनि कोरोनाभाइरस मानिसमा सर्न सक्ने दाबी गरेका छन्। 

डब्ल्यूएचओका अनुसार यो भाइरस मुख्य रुपमा मानिसबाट मानिसमा फैलिने गर्छ। जुन हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा मुखबाट निस्किने छुटाका माध्यमबाट यो भाइरस सर्न दाबी गरिँदै आएको छ। 

वैज्ञानिकहरुले मानिसहरुले बाहिरी वातावरणमा हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा निस्किने छिटामार्फत कोरोनाभाइरस हावामा घुलमिल हुने र अन्य मानिसमा पनि सर्ने दाबी गरेका छन्। 

यद्यपि डब्ल्यूएचओले भने वैज्ञानिकहरुले न्युयोर्क टाइम्सलाई दिएको प्रमाण पूर्ण नरहेको दाबी गरेको छ। डब्ल्यूएचओका डा बेनेडेटा अलेंग्रांजीले भनेका छन्, ‘हामी विशेषगरी हावाबाट पनि यो भाइरस सर्न सक्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ तर यकिन प्रमाण फेला परिसकेको छैन।’ – एजेन्सी