काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्न थालेको छ। यसका साथै कोरोनाले आफ्नो रुप परिवर्तन गरिरहेको छ। जसका कारण यसलाई न्यूनीकरण तथा नियन्त्रण गर्न विश्वका लागि चुनौती बनेको छ।

यही बेला प्रसिद्ध मेडिकल जर्नल द लान्सेटले कोरोना संक्रमणका बारेमा अचम्मित पार्ने प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ। जसमा कोरोना संक्रमण हावाबाट फैलिन थालेको दाबी गरिएको छ। यसअघि कोरोना संक्रमित व्यक्तिले हाँछ्यु गर्दा वा खोक्दा आसपासका अन्य व्यक्तिमा सर्न सक्ने भनिँदै आएको थियो। द लान्सेटको यो खुलासाबाट अब कोरोनाबाट बच्न अपनाइँदै आएका सुरक्षा प्रोटोकल नै तत्काल बदलाव गर्न आवश्यक देखिएको छ।

द लान्सेटले प्रकाशित गरेको प्रतिवेदनअनुसार अहिले यो भाइरस मुख्य गरी हावाका माध्यमबाट फैलिरहेको छ। अनुसन्धानमा सहभागी बेलायत, अमेरिका, क्यानडालगायतका देशहरुका विज्ञहरुले यो भाइरस हावाका माध्यमबाट सर्दैन भन्नु आममानिस असुरक्षित रहेको बताएका छन्। 

विशेषज्ञहरुले यो भाइरस हावाबाट फैलिने थुप्रै प्रमाण पनि पेस गरेका छन्। उनीहरुले विशेष गरी यो भाइरस बाहिरभन्दा भित्रै धेरै फैलिने सम्भावना रहेको दाबी गरेका छन्। यदि भित्र भेन्टिसेसन छ भने यो भाइरस फैलिने सम्भावना कम हुने पनि उनीहरुको भनाइ छ। 

विशेषज्ञहरुले जो कोरोना संक्रमित हाँछ्यु वा खोक्दैनन् उनीहरुबाट ‘साइलेन्ट ट्रान्समिसन’ (बिना लक्षण वा लक्षणभन्दा अघि) यो भाइरस सर्ने सम्भावना ४० प्रतिशत रहन्छ । उनीहरुले विश्वभर अहिले कोरोना संक्रमण फैलिनुको मुख्य कारण ‘साइलेन्ट ट्रान्समिसन’ नै रहेको र यो मुख्य रुपमा हावाका माध्यमबाट फैलिरहेको संकेत गर्ने बताउँछन्। 

यसरी फैलिरहेको संक्रमणबाट बच्नका लागि वैज्ञानिकहरुले धेरैजसो समय घरभित्रै बिताउने मानिसलाई मास्क प्रयोग गर्न र ६ फिटको दूरी कायम सुझाव दिएका छन्। त्यस्तै घरमा भीडभाड कम गर्न तथा भेन्टिलेसन र एयर फिल्ट्रेसनको प्रयोग गर्न पनि उनीहरुको आग्रह छ। 

बाहिर अनावश्यक घुमफिर कम गर्न पनि वैज्ञानिकहरुले सुझाव दिएका छन्। – एजेन्सी