काठमाण्डौ । हिमपात र शीतलहर देशभर चिसो ह्वात्तै बढेको छ। 

चिसोका कारण कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो। 

मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरेको छ। 

यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन अनुरोध गरेको छ । मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ। 

चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन मन्त्रालयले आग्रह गरेको छ। काठो न्यानो पर्न र पर्याप्त हावा ओहोरोदोहोर हुने व्यवस्था गर्न पनि मन्त्रालयले सुझाएको छ। 

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगहरुलाई चिसोबाट बचाउन र आमा दूध खाने बच्चाहरुलाई नियमित रुपमा स्तनपान गराउन पनि मन्त्रालयले सुझाव दिएको छ। 

तातो तथा पोषिलो झोल पदार्थहरु प्रशस्त मात्रामा सेवन गर्न र धूमपान तथा मद्यपान नगर्न मन्त्रालयले आग्रह गरेको छ। 

स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै– ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार–घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले अपिल गरेको छ।