काठमाण्डौ। नेपालको मौसममा बुधबार रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहीबार सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिएको महाशाखाले जनाएको छ। 

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको महाशाखाको अनुमान छ। त्यसैले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ। 

पहाडी तथा हिमाली भेगका केही स्थानमा बिहीबार हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यसैगरी देशका पहाडी तथा तराईका धेरै स्थानमा शुक्रबार मेघगर्जनसहित चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको १ वा २ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ। 

महाशाखाका अनुसार मुलुकका केही स्थानमा शनिबार हिमपात र वर्षा भए पनि आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार आउनेछ।