काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले ३१ करोड भन्दा बढी रकमको साधारण सेयर निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३१ करोड ९६ लाख रुपैयाँको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण सेयर निश्कासनको तयारी थालेको हो । 

कुल निश्कासन हुन लागेको सेयरमध्ये १० लाख ६५ हजार ४ सय १७ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । बाँकी रहेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयर चाहि सर्वसाधारणका लागि जारी हुनेछ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो संस्थाको आइपीओलाई ग्रेड ४ प्लसको रेटिङ प्रदान गरेको छ । यो भनेको कम्पनीको बित्तीय अवस्था औसत रहेको भन्ने हो । 

हिमालयन पावर वि.सं. २०६१ सालमा जलविद्युतको क्षेत्रमा खोज, जलविद्युत आयोजनाको विकास र यो क्षेत्रको कन्सल्टेन्सीको रुपमा काम गर्ने उद्देश्यले स्थापित कम्पनी हो । सन् २०१३ मा यो कम्पनीमा एनआरएनएहरुले लगानी गरेपछि कम्पनी पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई अगाडि बढिरहेको छ । यो कम्पनीले लमजुङमा अवस्थित २७ मेगावाटको दोर्दीखोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।