काठमाण्डौ । हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन रहेको छ।

आज हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, शिवम सिमेन्ट्स, बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यी कम्पनीले भोलि पुस २० गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षका लागि ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको पुस २९ गते हुने २२ औँ वार्षिक साधारणसभा पारित गर्नेछ। सभा वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ।

यसैगरी मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकले यही पुस ३० गते हुने १६ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेदेखि सुरु हुनेछ।

मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षका लागि २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस पुस ३० गते १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा भक्तपुरको सूर्यविनायकस्थित योयो ब्याक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

त्यस्तै साधना लघुवित्तले गत आर्थिक वर्षका लागि १९ बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाले यही पुस ३० गते हुने छैटौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ। सभा गोरखाको बिसौनीस्थित सामना होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

गुराँस लघुवित्तले गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते हुने वार्षिक साधारणसभा अनुमोदन हुनेछ। सभा धनकुटाको भेडेटार भिलेज रिसार्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

शिवम सिमेन्ट्सले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। सभा हेटौँडाको सामना होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।

त्यसैगरी बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्षका लागि क्रमशः २० प्रतिशत र ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांश यी दुवैको यही पुस २९ गते काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा हुने वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ।